दस दिनमै ६० हजार संक्रमित

पिपलबाेट संवाददाता


काठमाडौँ– कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै संक्रमण दर ह्वात्तै बढेको छ। पछिल्लो एक साता यता दैनिक रुपमा ५ हजार भन्दा बढी संक्रमितहरु भेटिन थालेका छन्।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार बुधबार मात्रै ८ हजार ६६९ जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या हालसम्मकै उच्च रहेको छ। बुधबारभन्दा अगाडि वैशाख २१ गते अर्थात मंगलबार सबैभन्दा धेरै ७ हजार ६६० जनामा संक्रमण पुष्टि भएको थियो।

संक्रमणले तीव्र गति लिदै गर्दा संक्रमितको संख्यामा पनि ह्वात्तै बढेको छ। मन्त्रालयले सर्बजनिक गर्दै आएको पछिल्लो १० दिनको तथ्याङ्क हेर्दा ५९ हजार ९८३ जना नयाँ संक्रमित थपिएका छन्।

त्यही १० दिनको तथ्याङ्क हेर्दा वैशाख १३ गते संक्रमितको संख्या सबै भन्दा थोरै अर्थात ३ हजार ५५६ रहेको छ। त्यसपछि भने दैनिक रुपमा संक्रितको संख्यामा वृद्धि हुदै गएको छ।

यही स्थितिमा संक्रमण फैलिदै जाने हो भने भारतको जस्ते भयावह स्थिति आउने भन्दै विज्ञहरुले सावधान हुन आग्रह गर्दै आएका छन्। उनीहरुका अनुसार खुल्ला सिमा नाका कारण संक्रमण उच्च गतिमा फैलिरहेको छ।

वैशाख १८ गतेसम्म ५ हजार ७ सय नयाँ संक्रमित थपिदै गर्दा त्यसको भोलिपल्ट अर्थात वैशाख १९ गते ७ हजार २ सय नयाँ संक्रमित थपिएका थिए। यसरी नै संक्रमितको संख्या दैनिक रुपमा उकालो चढ्दै गइरहेको छ।

यही स्थितिमा संक्रमण फैलिदै जाने हो भने भारतको जस्ते भयावह स्थिति आउने भन्दै विज्ञहरुले सावधान हुन आग्रह गर्दै आएका छन्। उनीहरुका अनुसार खुल्ला सिमा नाका कारण संक्रमण उच्च गतिमा फैलिरहेको छ।

यस्तै संक्रमण दर बढेसँगै नेपालमा मृत्यु दर समेत बढेको छ। बुधबार मात्रै संक्रमणका कारण ५८ जनाले ज्यान गुमाएका छन्। संक्रमित हुने र संक्रमणका कारण मृत्यु हुनेको संख्यामा अझै वृद्धि हुने विज्ञहरुले बताएका छन्।

अस्पतालमा विरामीले खचाखच भरिएका छन्। बेड नपाएर विरामी भौँतारिने अवस्था सिर्जना भइसकेको छ। विरामीको उचारका लागि विभिन्न विकल्पहरु खोजिन थालेका छन्।

हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ।

योसँगै नेपालमा संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० पुगेको छ भने संक्रमण मुक्त भएर घर फर्किको संख्या २ लाख ८९ हजार ७८३ पुगेको छ।

२३ बैशाख २०७८ मा प्रकाशित
Nabintech