सरकारी तथ्यांकमा पर्याप्त आईसीयू र भेन्टिलेटर, तर संक्रमितलाई किन अभाव ?

पिपलबाेट संवाददाता


काठमाडौं । दोस्रो लहरको कोभिड संक्रमण अहिले नेपालमा उच्च बिन्दुमा पुगेको छ । संक्रमित हुने दरसँगै मृतकको संख्या पनि बढिरहेको छ । बुधबार अहिलेसम्मकै सबैभन्दा धेरै ५५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भयो ।

अस्पतालहरूमा संक्रमितको चाप बढेपछि अक्सिजनको सपोर्टमा राख्नुपर्ने बिरामीलाई मात्रै भर्ना लिने गरिएको छ भने आईसीयू भेन्टिलेटर तथा एचडीयूमा राख्नुपर्ने बिरामी पनि बढेका छन् । विशेषगरी काठमाडौं उपत्यकामा आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने संक्रमितको संख्या बढेपछि अस्पतालहरूमा आईसीयू र भेन्टिलेटर अभाव हुन थालेको छ ।

चार दिनदेखि बेडको पर्खाइमा छन् जटिल संक्रमित
काठमडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आईसीयू र भेन्टिलेटर एचडीयूमा गरी अहिले ६० जना कोभिडका गम्भीर संक्रमित उपचार गराइरहेका छन् । अस्पतालमा रहेका सबै बेड भरिएपछि ४ दिनदेखि संक्रमितहरू कुरिरहेका छन् ।

“अस्पतालमा नयाँ संक्रमित भर्ना लिन सकिने अवस्था छैन । अहिले ६० जना जटिल संक्रमितको उपचार गरिरहेका छौँ, २४ जना वेटिङ लिस्टमा छन् । कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने तनाव छ,” अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले भने ।

टेकु लगायत काठमाडाैं उपत्यका र उपत्यका बाहिरका अस्पतालहरूमा पनि आईसीयू र भेन्टिलेटर बेड भरिएका छन् । अक्सिजन चाहिने संक्रमितलाई कतिपय अस्पतालहरूले वार्डमा दोब्बरसम्म पनि बेड थप गरेर चलाइरहेको अवस्था छ ।

काठमाडौंमा मात्रै ३१ प्रतिशत आईसीयू र ४० प्रतिशत भेन्टिलेटरमा 
मुलुकभर अहिले ६६ हजार ३५२ जना कोभिड १९ का सक्रिय संक्रमित छन् । जसमध्ये ६०० जना आईसीयू र १५६ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । जसमध्ये सबैभन्दा धेरै वाग्मती प्रदेशमा ३०१ जना आईसीयूमा र ८८ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

काठमाडौं उपत्यकाका १४ वटा अस्पतालमा मात्रै १९० जना आईसीयू र ६३ जना भेन्टिलेटरमा उपचररत रहेको स्वास्थय तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक छ । त्यस्तै उपत्यका बाहिर प्रदेश १ मा आईसीयू र भेन्टिलेटरमा गरी ११९ जना, प्रदेश २ मा २६, गण्डकी प्रदेशमा ४६, लुम्बीनीमा ९९, कर्णालीमा ४३ र सुदूरपश्चिम प्रदेशमा ३४ जना रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ । यस हिसाबले जटिल संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा ३१ प्रतिशत आईसीयू र ४० भेन्टिलेटरमा उपचार गराइरहेको देखिएको छ ।

कसरी भरिएका छन् अस्पतालहरूका आईसीयू र भेन्टिलेटर ?
कोभिड संक्रमितको उपचारका क्रममा श्वासप्रश्वासमा गम्भीर समस्या देखिएका, सिकिस्त अवस्थाका बिरामीलाई आईसीयूमा राख्ने गरिएको छ । त्यस्तै निरन्तर अक्सिजनको सहायतामा राख्नुपर्ने सिकिस्त अवस्थाका बिरामीलाई भेन्टिलेटर यी दुई कक्षमा उपचार गराउनुपर्नेभन्दा केही सामान्य बिरामीलाई हाइ डिपेन्डेन्सी युनिट (एचडीयू)मा राखेर उपचार गर्ने गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेकाअनुसार ‘कोभिड संक्रमणको उपचार गराइरहेका केही संक्रमितमा फोक्सो तथा श्वासप्रश्वासको समस्या लामो समयसम्म रहनसक्छ । “कोभिड संक्रमणको उपचार गरेका केही बिरामी डेढ महिनासम्म पनि आईसीयूमा राख्नुपरेको रेकर्ड छ । उनीहरूमा संक्रमण नेगेटिभ आएपनि निमोनियालगायत समस्या देखिइरहन्छ,” उनले भने, “यो अवस्थामा उनीहरलाई आईसीयूबाट निकाल्न मिल्दैन । त्यस्तै अस्पतालमा अन्य रोगको उपचार तथा शल्यक्रिया गर्दागर्दै पनि संक्रमण देखिएका बिरामीहरू पनि छन् यो अवस्थामा पनि उनीहरूलाई आईसीयू नै भर्ना गर्नुपर्ने हुन्छ ।”

विशेष उमेर समूहका बिरामीका लागि बनाइएका आईसीयू बेडमा अन्य बिरामीलाई राख्न नमिल्ने भएकाले पनि बेडको अभाव भएको डा. काफ्ले बताउँछन् । “कतिपय आईसीयू बेडहरू स्पेसिफिक प्रयोजनका लागि हुन्छन् । जस्तै बालबालिका लागि जडान गरिएको आईसीयूमा अन्य बिरामी राख्न सकिँदैन । यस्ता कारणले पनि आईसीयू तथा भेन्टिलेटर अभाव भएको हो,” उनले भने ।

सरकारको तथ्यांकमा मुलुकभर १ हजार ४२३ आईसीयू र ५८३ भेन्टिलेटर छन् । जसमध्ये ४०० वटा आईसीयू पछिल्लो वर्षको कोभिड संक्रमणपछि थप गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन् । पछिल्लो समय थपिएका कोभिड विशेष आईसीयू तथा भेन्टिलेटर पूर्ण रूपमा सञ्चालनमा आइनसकेले अहिले मुलुकभरका अस्पतालमा कोभिड संक्रमितको उपचारका लागि आईसीयू तथा भेन्टिलेटर बेड अभाव भइहेको छ ।

२३ बैशाख २०७८ मा प्रकाशित
Nabintech