दिनदिनै कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या बढिरहेको छ त्यसको चाप अस्पतालले थेग्नुपरेको छ ।बिरामीको चाप बढेपछि कतिपय अस्पतालले भर्ना लिन नसक्ने घोषणा गर्न थालेका छन् । त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दास पनि अस्पतालले थेग्न नसक्ने गरी चाप बढिसकेको बताउँछन् ।अस्पतालमा २३० जना संक्रमित उपचाररत छन् । अस्पतालमा भर्ना हुन आउने अधिकांशको अवस्था गम्भीर छ । उनीहरू सबैलाई हाईफ्लो अक्सिजन दिनुपर्ने अवस्था छ । इमरजेन्सीमा पालो कुरेर बस्नेको संख्या पनि उत्तिकै छ ।
उनका अनुसार अस्पतालले अहिले हाईफ्लो अक्सिजन र जनशक्तिको अभाव बेहोरिरहेको छ । अस्पतालले २५ जना मेडिकल अफिसर र डेढ सय जना नर्स माग गरेको थियो । तर निकै कमले मात्र आवेदन दिएका छन् । जबकि केही समय अघि १५ जना स्टाफ नर्स माग गर्दा १७ सय जनाले आवेदन दिएका थिए । कोभिड फोकल पर्सन डा. दास भन्छन्, ‘हामीलाई हाईफ्लो भएको अक्सिजन व्यवस्थापन गर्न एकदमै गाह्रो भइरहेको छ । जनशक्तिको अभाव उस्तै छ ।’अस्पतालमा संक्रमितको चाप बढेको छ । जनशक्ति अभाव हुँदै गएको छ । जनशक्ति कम हुँदा अस्पतालले २५ जना मेडिकल अफिसर र डेढ सय नर्स माग गरेको थियो । बिहीवार एक जना मेडिकल अफिसर र ३५ जना नर्सले आवेदन दिएका छन् ।
दैनिक ८ देखि १० जना जनशक्ति त अक्सिजन व्यवस्थापन गर्नमै लाग्ने उनको भनाइ छ ।८० प्रतिशत संक्रमित होम आइसोलेसनमा बसेपनि २० प्रतिशतलाई अक्सिजन सपोर्ट चाहिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुका प्रमुख डा. कृष्ण पौडेल बताउँछन् ।देशभर करिब २२ हजार बेड क्षमता छ । तर हाईफ्लो अक्सिजन दिने सुविधा भएका वेड कम छन् अहिले तत्काल हाईफ्लो अक्सिजनको मात्रा बढाउनुपर्ने र जनशक्ति पनि कम भएकाले धान्न गाह्रो हुँदै गइरहेको उनले बताए । डा. पौडेल भन्छन्, ‘उपलब्ध क्षमताले बिरामीको चाप धान्न गाह्रो छ ।’पाटन अस्पतालमा पनि संक्रमितको चाप बढेकाले नन्–कोभिड बेडहरूलाई कोभिड बनाउन थालिएको अस्पताल निर्देशक प्रा. डा. रवि शाक्य बताउँछन् । अस्पतालको ६५० बेडमध्ये तीन सय भन्दाबढी बेड संक्रमितको लागि छुट्याएको उनले बताए । भन्छन्, ‘अवस्था जटिल छ, धान्नै नसकिने अवस्था नआउला भन्न सकिन्न ।’