बाँकेमा भारतबाट एक ट्यांकर अक्सिजन उपलब्ध

पिपलबाेट संवाददाता


मेडिकल कलेज, कोहलपुरमा एक ट्यांकर अक्सिजन आइपुगेको छ। भारतबाट एक ट्यांकर अक्सिजन आएसँगै बाँकेमा केही राहत मिलेको छ।

अक्सिजन आएसँगै मेडिकल कलेजले थप ५० जना बिरामीलाई भर्ना गर्ने तयारी गरेको छ। अक्सिजन अभावले गर्दा अहिले मेडिकल कलेजले सय जना मात्रै कोरोना संक्रमितको उपचार गरिरहेको छ।

नेपालगञ्ज मेडिकल कलेजका उपनिर्देशक डा. नितेश कनोडियाले नेपालगञ्ज र कोहलपुर मेडिकल कलेजका इमरजेन्सीमा रहेका ५० जनालाई थपेर डेढ सय जनाको उपचार सुरु गरिने जानकारी दिए।

‘भारतबाट अक्सिजन आउन सुरु भएको छ। यही ट्यांकर गएर फेरि भरेर आउँछ।

अब नियमित हुन्छ होला, यस्तो भएमा हामीले बिरामी संख्या बढाउँदै लैजान्छौं, उपनिर्देशक डा. कनोडियाले भने, अक्सिजन सिलिन्डर प्रयोग गरेर आइतबार आएको एक ट्यांकरलाई १० दिनसम्म पुर्‍याउने तयारीमा छौं।’

सय जना बिरामी हुँदा अहिले मेडिकल कलेजमा तीन सयदेखि साढे तीन सय वटा सिलिन्डर खपत भइरहेको छ।

बिरामी बढाउँदा त्यो संख्या बढ्दै जान्छ। अक्सिजन अभाव भएपछि मेडिकल कलेजले २२ गते विज्ञप्ति निकालेर नयाँ भर्ना रोकेको थियो।
अक्सिजनको अभाव भेरी अस्पताल, नेपालगञ्जले पनि भोगिरहेको छ।

भेरीमा अहिले तीन सय बढी बिरामी छन् भने चार सय बढी सिलिन्डर खपत भइरहेको छ। भारतबाट लिक्विड अक्सिजन नआउँदा भेरीमा भण्डारण गर्ने ट्यांक ल्याएर पनि थन्किएको छ। अक्सिजन भण्डारण गर्न ट्यांक ल्याइसकेको छ। त्यसको फाउन्डेसन बनाइसकेको छ।

लिक्विड अक्सिजन आउने वातावरण बनेमा एक हप्ताभित्र ट्यांकर जडान गरेर पाइपलाइन जोडिने भेरीका मेसु डा. प्रकाश थापाले जानकारी दिए। ‘एउटा ट्यांकरमा २० हजार लिटर लिक्विड अक्सिजन हुन्छ।

त्यसलाई ग्यास बनाएर सेन्ट्रल पाइपलाइनबाट बेडबेडमा पुर्‍याउँछौं, मेसु डा. थापाले भने, यस्तो गर्दा अहिले नियमित रूपमा सिलिन्डरमा भरेको ग्यासभन्दा ढाईदेखि तीन गुणा सस्तो पर्न जान्छ।’

बाँकेमा दैनिक दश जना बढीको मृत्यु भइरहेको छ। अस्पतालमा अक्सिजन अभाव हुँदा बिरामीले राम्ररी उपचार पाइरहेका छैनन्। पालिकास्तरमा बनेका आइसोलेसन सेन्टरले पनि अक्सिजन पाइरहेका छैनन्।

आइतबार कोहलपुरमा एक ट्यांकर अक्सिजन आउँदा जिल्लावासी खुसी भएका छन्।

२६ बैशाख २०७८ मा प्रकाशित
Nabintech