बाँकेमा निषेधाज्ञा जेठ ३ गतेसम्म लम्ब्याइयो

पिपलबाेट संवाददाता


बाँकेमा निषेधाज्ञा आगामी जेठ ३ गतेसम्मका लागि लम्ब्याइएको छ।

जिल्ला प्रशासन कार्यालय, बाँकेले सूचना जारी गर्दै निषेधाज्ञालाई जेठ ३ गते राति १२ बजेसम्मका लागि निरन्तरता दिएको जनाएको छ।

कोभिड–१९ को संक्रमण दरमा कमी नआइ परिस्थिति असहज बन्दै गइरहेको स्थितिमा संक्रमण रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन निषेधाज्ञालाई लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए।

बाँकेमा वैशाख १३ गते रातिदेखि जिल्लाभरी नै निषेधाज्ञा लगाइएको थियो। २० गतेसम्म लगाइएको निषेधाज्ञालाई २७ गतेसम्म निरन्तरता दिइएको थियो। त्यसलाई अहिले जेठ ३ गतेसम्म पुर्‍याइएको हो।

त्यसअघि स्थानीय प्रशासनले वैशाख ९ गतेदेखि नै नेपालगञ्ज क्षेत्रमा मात्रै निषेधाज्ञा लगाएको थियो। बाँकेमा पछिल्लो दिनमा दैनिक करिब पाँच सय बढी संक्रमित बढिरहेका छन्।

२७ बैशाख २०७८ मा प्रकाशित
Nabintech