आजबाट अक्सिजन व्यवस्थापनको जिम्मा स्वास्थ्य मन्त्रालयलाई

पिपलबाेट संवाददाता


काठमाडौं उपत्यकाका सबै सरकारी तथा निजी अस्पताललाई आजबाट अक्सिजन व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भएको छ । कोरोना संक्रमणका बिरामी थपिँदै जाँदा अक्सिजनको चरम अभाव भइरहेका बेला स्वास्थ्य मन्त्रालयले अक्सिजनको ब्यबस्थापन गर्ने भएको हो ।

बिहीबार मुख्य सचिवको नेतृत्त्वमा बसेको विभिन्न मन्त्रालयका सचिवहरुको बैठकले आजबाट आवश्यक अक्सिजन सिलिण्डरको आपूर्तिको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्ने निर्णय गरेको हो ।

अब मेडिकल अक्सिजनको प्रयोग र आवश्यकता सम्बन्धी मापदण्ड, २०७८ अनुसार स्वास्थ्य मन्त्रालयले व्यवस्थापन मिलाउने छ । यसअघि यो काम सीसीएमसीले गर्दै आएको थियो । सहज अवस्थामा भने अस्पताल आफैंले अक्सिजनको जोहो गर्थे । अक्सिजनको अभाव सुरु भएपछि सीसीएमसीले अस्पतालहरुमा अक्सिजनको कोटा निर्धारण गरेको थियो ।

बैठकले स्वास्थ्य मन्त्रालयलाई गृह मन्त्रालय र स्थानीय प्रशासनले आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । निर्णय अनुसार कुन अस्पताललाई कति अक्सिजन दिने भन्ने निर्देशन आजबाट स्वास्थ्य मन्त्रालयले जारी गर्ने छ ।

३१ बैशाख २०७८ मा प्रकाशित
Nabintech