जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नं. ६ को वडा कार्यालयमा आगजानी भएको छ । वडा कार्यालयमा अज्ञात समूहले आगजानी गरेको वडा नं. ६ सुवानाउलीका वडा सचिव दिपकराज गिरीले जानकारी दिएका छन् । वडा कार्यालयको नयाँ भवनमा रहेको बैठक कक्ष (सभाहल)मा अज्ञात समूहले आगजानी गरेको उनले बताएका छन् । आगजानीबाट सभाहलमा रहेका करिब ३० वटा कुर्सी, झ्याल लगायतका अन्य कार्यालयसँग सम्बिधित केहि कागतजातहरु जालेर नष्ट भएको छेडागाड नगरपालिका वडा नं. ६ का वडा सदस्य एवम् नेपाली काँग्रेसका यूवा नेता जनकराज शर्माले बताएका छन् । नेता शर्माका अनुसार वडा कार्यालयको सभाहलमा रहेका कागजातहरु सबै जलेर नष्ट भएका छन् भने अन्य स्वास्थ्य चौकीका केहि सामानहरु पनि जेलेर खरानी भएको छन् । आगजानी कसले र किन गरेको हो भनेर पत्ता नलागेको भन्दै घटनामा संलग्नलाई कडा कारवाहीका लागि प्रशासनसँग आग्रह समेत गरेका छन् । वडा कार्यालयमा आगजानी गर्ने समूहलाई तत्काल प्रक्राउ नगरे कडा आन्दोलनमा गई काँग्रेसले नै अपराधिलाई पत्ता लगाउने उद्घोष समेत उनले गरेका छन् । जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले घटनामा संलग्नलाई पत्ता लगाई आवश्यक कारवाही गरिने बताएका छन् । राज्यको सम्पत्ति माथि आक्रमणगर्नेलाई कानूनअनुसार कारवाही गरिने बताएका छन् ।
किन हुन्छ सुवानाउलीमा आगजानी ?
जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नं. ६ मा विगतमा पनि विभिन्न कार्यालयहरुमा आगजानी भएका घटनाहरु सार्वजनिक भएका छन् । किन यसरी सार्वजनिक निकायहरुमा अज्ञात समूहले आगजानी गरिहेको छ ? यसका पछाडिको कारण के हुन सक्छ ? यसको जवाफ कसैसँग नभएको पाईन्छ । विशेष गरी सुवानाउलीमा राजनीतिक रङ्गका कारण यस्ता घटना हुने गरेका छन् । सुवानाउलीमै जन्मेका रत्नप्रसाद शर्मा कुनै बेला संघिय सांसद समेत भएका थिए । सांसद पाएको वडाले यस्ता अपराधि गतिविधिहरु किन व्यहोरिरहेको छ ? यसको जवाफ आम जनताले खोजिरहेका छन् । गत वर्ष जन विकास मावि सुवानाउलीमा निमावि तहको शिक्षक नियुक्त गर्ने विषयमा विवाद उत्पन्न हुँदा विद्यालयमै आगजानी भएको थियो । विद्यालयमा आगजानी हुँदा विद्यालयका महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएका थिए । यसरी सार्वजनिक कार्यालयहरुमा आगजानी हुँदा समेत वडा अध्यक्ष र नगरप्रमुख लगायत प्रशासन गम्भिर नहुँदा यस्ता घटना हुने गरेको स्थानियको भनाई रहेको छ । जिम्मेवार व्यक्तिहरुले गम्भिर रुपमा समिक्षा गरी सुवानाउलीमा हुने यस्ता क्रियाकलापहरु बन्द गर्न जिम्मेवार हुुनुपर्ने बेला आएको छ । काँग्रेसका यूवा नेता समेत रहेका वडा सदस्य जनकराज शर्माका अनुसार वडामा राजनीतिक रुपमा नातावाद लागु गर्न खोज्दा यस्तो अवस्था आएको बताउँदै घटनामा संलग्नलाई पत्ता लगाएर प्रशासनले कारवाही नगरे काँग्रेस कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावानी समेत दिएका छन् । विशेष गरी एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले अपराधिलाई संरक्षण गरिरहेको वडा सदस्य समेत रहेका शर्माको भनाई रहेको छ । विद्यालय, वडा कार्यालयमा समेत आगाजानी गर्ने समूहलाई कारवाही गर्न नसक्ने प्रशासनले आम नागरिकको जिउधनको कसरी सुरक्षा दिन सक्छ भन्दै प्रश्न समेत उनले गरेका छन् ।