बाँकेको कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले कोहलपुर नगरपालिका भित्र कोरोना संक्रमित भएकाहरुसँग चित्सकिय सेवा सहित होम आईसोलेसनमा बसेकासँग भेटघाट गरिरहेकी छिन् । विशेष गरी कोरोना संक्रमित भई आफ्नै घरमा स्वास्थ्य लाभ लिईरहेका कोरोना संक्रमितहरुको अवस्था बुझ्नका लागि उपप्रमुख चौधरीले आफ्नो नेतृत्वमा डाक्टरसहित चित्सकिय परामर्श सेवा दिईरहेकी छिन् । होम आईसोलेसनमा बसेकाहरुको आत्माबल बढाउनका लागि सो अभियान संचालनमा ल्याईएको उपप्रमुख चौधरीले जानकारी दिएकी छिन् । कोरोना भाईरसका संक्रमितहरुले घरमा बस्दा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका बारेमा विशेषमा जानकारी दिने र सोहि अनुसारको व्यवस्थापन मिलाउनका लागि आफुले पहल गरिरहेको बताउँछिन् । पछिल्लो समय होम आईसोलेसनमा बसेका कोरोना संक्रमितहरु स्वास्थ्य अवस्था जटिल भएपछि अस्पताल जाने र अस्पताल जाँदा अवस्था नियन्त्रण बाहिर गएर कतिपयको निधन समेत हुने गरेकाले होम आईसोलेसनमा बसेका कोरोना संक्रमितका बिरामीहरुको घरमै चित्सकिय सेवा उपलब्ध उपप्रमुख नेतृत्वको टोलिले गरिरहेको छ । कोहलपुर नगरपालिकाकी उपप्रमुख चौधरी नेतृत्वको टोलिमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत डा. देवेन्द्र आचार्य, डा. सन्तोष थारु, कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरी, हेल्थ असिसेन्ट सुधन बुढाथोकी र आफिस खान, स्टार्फ नर्स सुनिता थारु रहेकी छिन् । सो स्वास्थ्यकर्मीहरुको टोलीले घरघरमा पुगेर स्वास्थ्य सेवा दिईरहेको छ । डाक्टर सहितको टोलीले कोरोना संक्रमितलाई आवश्यक चित्सकिय परामर्श तथा आवश्यक औषधी समेत सिफारिस गरिरहेको उपप्रमुख चोधरीले बताएकी छिन् । साथै कोरोना भाईरसबाट अति गम्भिर अवस्थामा पुगेका बिरामीहरुको अस्पतालहरुमा रिफर गर्ने तथा गम्भिर खालका बिरामीलाई आईसोलेसन तथा अन्य अस्पातालमा रिफर गर्ने व्यवस्था मिलाईएको उनी बताउँछिन् । साथै होम आईसोलेसनमा बसेका बिरामीहरुका लागि जुमको माध्यमबाट अनलाईन चिकित्सकिय सेवा प्रदान गरिएको र जसले गदा बिरामीलाई धेरै राहत मिलेको उनले बताईन् । यसका साथै कोहलपुरको अस्थाई कोभिडअस्पताल र आईसोलेसन सेन्टरमा रहेका बिरामहरुलाई बिशेषज्ञ सेवा समेत नियमित रुपमा प्रदान गरिएको छ भने सो सेवा निःशूल्क रुपमा डा. श्याम बिके, डा. शिशिर रेग्मी, डा. प्रवेश पन्त लगायतका डाक्टर स्वयम् अस्पतालमा उपस्थित भई बिरामीहरुको अवस्थाका बारेमा जानकारी लिईरहेका छन् । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत विशेषज्ञ चिकित्सकहरुले कोहलपुर नगरपालिकालाई निस्वार्थ र निःशूल्क रुपमा सहयोग गरेकोमा उपप्रमुख चौधरीले धन्यवाद समेत व्यक्त गरेकी छिन् ।
यसका साथै उपप्रमुख चौधरीले आफुले प्रयोग गर्दै आएको कोहलपुर नगरपालिकाको गाडि नगर स्वास्थ्य शाखा कोहलपुरलाई उपलब्ध गराएकी छिन् । सो गाडि स्वास्थ्य साम्रगी ल्याउन, स्वास्थ्य शाखालाई अतिआवश्यक पर्ने अन्य कामका लागि प्रयोग गर्न सहज होस् भन्ने उद्देश्यले गाडि उपलब्ध गराएको उपप्रमुख चौधरी बताउँछिन् । यसका साथै उपप्रमुख चौधरीकै नेतृत्वमा कोहलपुर नगरपालिकाद्धारा ंसंचालित अस्थाई कोभिड अस्पतालका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्था मिलाईएको छ । उपप्रमुख चौधरीकै पहलमा यस क्षेत्रका उद्योगि व्यवसायीहरुले अक्सिजनको व्यवस्थापन गरिरहेका छन् । कोहलपुर नगरपालिकाद्धारा संचालित कोरोना अस्थाई अस्पतालका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्था गरिरहेको उपप्रमुख चौधरीले बताएकी छिन् । दिनरात कोरोना भाईरसका संक्रमितहरुको सेवामा खटिएकी उपप्रमुख चौधरी कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि स्वास्थ्य मापदण्डका विधिहरु अपनाउन आम कोहलपुरबासीलाई आग्रह समेत गरेकी छिन् । कोरोना भाईरसको विपद्मा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न उनले सबैमा अनुरोध समेत गरेकी छिन् ।