आर्यघाटको बाटो लागेको देशमा

अर्जुन पोख्रेल


बिहीवार बिहानै काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा अक्सिजन सकिन लागेको थियो । कोरोना संक्रमित १ सय ५ जनाको ज्यान जोखिममा थियो । अस्पतालका निर्देशक सन्तोष पौडेल र कोरोना व्यवस्थापन समितिका सदस्य भुवन केसीको टोलीका सदस्य हारगुहारमा थिए । धेरैका आँखामा अहिले पनि अक्सिजन खोज्न निर्देशक पौडेल आफै एम्बुलेन्स लिएर शहरका कुुना काप्चामा दौडेको दृश्य झलझली आइरहेकै छ ।

सरकारले अक्सिजन दिन नसकेर अक्सिजनको अभावमा बिरामीको ज्यान जाने अवस्था आएपछि पौडेल र केसीको टोलीले नागरिकसित अपील गर्‍यो । उज्यालोसँग कुरा गर्दै केसीले भन्नुभयो “सयजना भन्दा धेरै बिरामी जोखिममा छन्, कृपया तपाईंहरुले पनि अपिल गरिदिनुहोला ।’

सञ्चारमाध्यम र सामाजिक सञ्जाल ट्रमा सेन्टरका बिरामीको ज्यान जोखिममा रहेको खबरले भरिएको थियो । तर, ज्यान जोगाउने जिम्मा लिएका सबै निकायका पदाधिकारी मौन ब्रतमा देखिन्थे । यति डरलाग्दो मानवीय संकटमा कुनै पनि सरकारी निकायले सहयोग गरेनन् । कुनै राजनीतिक दलका नेताहरुले चासो दिएनन् ।

राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुन र सञ्चारकर्मी रवी लामिछाने जस्ता मानिसको सहयोगमा पाएको अक्सिजनले बल्लतल्ल बिरामीको ज्यान बचायो ।

ट्रमा सेन्टरमा यस्तो हाहाकार मच्चिँदा पनि तीनवटै प्रमुख दलका नेताहरु निरो भएर सत्ताको बासुरी बजाउने खेलमा मस्त थिए । बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक चल्दै थियो । एमालेकै माधव नेपाल पक्ष भावी रणनीतिका लागि भर्चुअल बैठकमा व्यस्त थियो । माओवादीका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवा नयाँ सरकार बनाउन सांसदको सूची तयार गर्दै थिए । बुढानीलकण्ठमा देउवा र जसपाका नेताहरु निर्णायक छलफलमा व्यस्त थिए । तर, अक्सिजन नपाएर नागरिक बगरमा फालिएको माछा झैं अस्पताल भित्र र बाहिर छटपटाइ रहेका थिए । तर उनीहरुको चिन्तामा न नेता चिन्तित थिए न त सरकारी कर्मचारी नै । नागरिकलाई मर्न छाडिदिएर उनीहरु सत्ताको गिद्देदृष्टिमा केन्द्रित थिए ।

प्रधानमन्त्रीको खेलाँची

देशमा कोरोना महामारीले निकै भयावह अवस्था निम्तिएको छ । केही दिन अघिसम्म भारतका अस्पतालमा अक्सिजन अभाव भएर २/४ जना व्यक्तिको ज्यान जाँदा सबै नेपाली डरले जिब्रो टोक्थे । तर आज आफ्नै देशमा, आफ्नै सहरमा र छिमेकमा अक्सिजन नपाएर एकैदिन १४ जना विरामीको प्राण गएको हेर्न र सुन्न बाध्य छन् ।

कोरोना संक्रमण फैलने दरमा नेपाल विश्वकै दोस्रो स्थानमा पुगेको छ । दैनिक संक्रमित थपिने दर पछिल्लो हप्ता ५२ प्रतिशतले बढेको छ । कोरोनाका कारण हुने मृत्युदरमा नेपाल १६ औँ स्थानमा उक्लेको छ । छिमेकी देश भारतमा भन्दा नेपालको अवस्था भयावह छ  ।

नागरिकले बेड पाएका छैनन्, अक्सिजनको अभाव छ । भेन्टिलेटरमा रहेको व्यक्तिको प्राण रहेसम्म नयाँ व्यक्तिका लागि भेन्टीलेटर पाइदैन भन्न डाक्टरहरु बाध्य भएका छन् । अस्पतालहरु चित्कारले भरिएका छन् र नेपालका घर आँगन वेदनाको आँसुले भिजेका छन् ।

यस्तो अवस्थामा देशका प्रधानमन्त्री चनाखो हुनुपर्ने, विज्ञहरुसँग छलफल गर्नुपर्ने, स्वास्थ्य सामग्रीको जोहो गर्न सकेसम्मका सबै उपाय गर्नुपर्ने हो । देशले सक्दै नसक्ने अवस्था आएको हो भने विदेशीहरुसँग सहयोग माग्नुपर्ने हो । तर प्रधानमन्त्री यस दिशामा अग्रसर हुन त परै जाओस्, अहिले पनि अधुरा कामको उद्घाटनमै व्यस्त हुनु खेदजनक छ ।

उद्घाटनको रौसमा प्रधानमन्त्रीले नेतृत्व गरेका भिडभाडकै कारण कयौँमा कोरोना फैलिएको स्वयं सरकारी अधिकारीहरु नै बताउँछन् । भिडभाड जम्मा पार्ने मात्र होइन उहाँका सार्वजनिक अभिव्यक्तिले समेत महामारीका विषयमा गलत हल्ला फैलाएको छ ।

यसअघि बेसार पानीले कोरोना ठीक गर्छ भन्ने अभिव्यक्तिका कारण विवादमा आएका प्रधानमन्त्रीले नेपाल चेम्बर अफ कमर्सको कार्यक्रममा अम्बाका पात उमालेको पानी गार्गल गरेमा कोरोना चैट् हुने गलत सन्देश प्रवाह गर्नुभयो ।

महामारी फैलिएपछि सरकारले निषेधाज्ञा जारी गराउने बाहेक रोकथामको गम्भीर प्रयास गरेको छैन । बरु यही अवधिमा सीएनएनसित “अवस्था नियन्त्रणमै रहेको” बताएर प्रधानमन्त्रीले दुनियाँसित झुट बोल्नुभयो ।

प्रधानमन्त्रीले दिनँहु बालुवाटारमा भेला आयोजना गर्नुहुन्छ । सत्ता टिकाउन कानुनविद्हरुसँग छलफल, नियुक्ति र आउँदो चुनावबारेका परामर्श गर्न प्रधानमन्त्रीलाई जति पनि फुर्सद छ । तर, महामारी रोक्न र अक्सिजनको अभाव टार्ने उपायको खोजी गर्न फिटिक्कै समय छैन ।

सामान्य अवस्थामा नागरिकले सरकारबाट सहयोग र साथ पाउने आशा त्यागिसकेकै थिए । तर महामारीको बेलामा सरकारबाट आमनागरिकले उपचार पाईएला भन्ने ठानेका थिए । अनि स्वास्थ्यकर्मीले प्रधानमन्त्रीबाट हौसला र मनोवलको आशा गरेका थिए । तर यस्तो अवस्थामा अक्सिजन, औषधि र खोपका काम अरुका टाउकामा हालेर सरकारले नागरिकलाई मर्न छाडिदिएको छ ।

गैर जिम्मेवार विपक्षी दल

कोरोना महामारीको यो जटिल अवस्थामा जसरी सत्ता लाचार देखियो, त्यत्तिकै गैरजिम्मेवार देखिए, नेपाली कांग्रेस र माओवादी केन्द्र । सत्ता ढाल्न र आफू कुर्सीमा पुग्ने लोभमा  काठमाण्डौका बुढानीलकण्ठ र खुमलटारको फन्को लगाउने, सानेपा र पेरिसडाँडाको दौडधुप गर्ने अनि नेताहरुका दैलो दैलो चहार्ने कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना नियन्त्रणको विषयमा न आफ्नो पार्टीमा छलफल गरे, न त यस विषयमा प्रधानमन्त्रीलाई नै जिम्मेवार बनाउन काम गरे । एउटा विज्ञप्ति निकाल्ने विवेक समेत उनीहरुले गुमाए ।

स्वार्थको आन्दोलनमा रातारात कार्यकर्ता ओसारेर दोस्रो दिन सडक कब्जा गर्ने दलहरुले महामारी नियन्त्रणमा आफ्ना संगठन परिचालन गर्न पनि सकेका छैनन् ।

राष्ट्रपतिको अभिभावकीय भूमिका खोइ  ?

नेपालमा राष्ट्रपतिको पद कार्यकारी होइन, त्यसैले, राष्ट्रपतिले प्रत्यक्ष काम गर्न मिल्दैन भन्ने सबैले बुझेका छन् । तर, देशमा संकट आउँदा सरकार, दल र विज्ञहरुलाई बोलाएर सुझाव लिन र सल्लाह दिन राष्ट्रपतिलाई संविधानले रोकेको छैन, रोक्दैन । तर राष्ट्रपतिले पनि नागरिकको जीउ ज्यानमा ध्यान दिएको अहिलेसम्म देखिएको छैन ।

यो देशका नीति, थिति र रिति बनाउने र बसाउने संस्थाहरुको नेतृत्व यो महामारीमा नागरिक मर्दा मौन छ । नागरिकले अकालमा ज्यान गुमाइरहेका बेला हाम्रा संस्थाहरु दायित्वच्यूत हुनु, नेता, सरकार र विपक्षी दल मौन भनेको देश बिस्तारै आर्यघाटमा जान थालेको लक्षण हो । नागरिकलाई त आर्यघाटमा पुग्दा पनि पशुपतिको आश हुन्छ, तर देशका सबै संस्थाहरु आर्यघाटमा पुग्दा पशुपतिनाथले बचाउलान् र ?

१ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech