बाँकेमा बैशाख महिनाभर १० हजार बढीमा संक्रमण पुष्टि, २४२ जनाको मृत्यु

पिपलबाेट संवाददाता


बैशाख महिनामा मात्र बाँकेमा कोरोना भाइरस संक्रमणका कारण २४२ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार बैशाख महिनामा बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ७५ जना र जिल्लाकै १६७ जनाको मृत्यु भएको हो ।

संक्रमणका कारण ज्यान गुमाउने १०१ जना महिला र १४१ जना पुरुष हुनुहुन्छ । बाँके जिल्लाका मात्र ७३ महिला र ९४ पुरुष गरि १६७ जनाले संक्रमणकै कारण ज्यान गुमाएको केन्द्रको तथ्यांकमा उल्लेख छ । गम्भीर प्रकृतिका संक्रमितको संख्या बढेका कारण बैशाख महिनामा ठूलो क्षति बेहोर्नु परेको धेरैको आँकलन छ ।

बैशाखको पहिलो सातादेखि कोभिड संक्रमण करिब नियन्त्रण बाहिर गएको बाँकेमा एक महिनामै १० हजार बढीमा संक्रमण पुष्टि भएको छ । १० हजार ११४ जनामा संक्रमण देखिएको केन्द्रले जनाएको छ । त्यसमध्य ४ हजार ६१० जना महिला र ५ हजार ५०४ जना पुरुष हुनुहुनछ ।

बैशाख महिनाभर कोरोना भाइरस संक्रमणबाट ६ हजार ४७० जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । २ हजार ९२५ जना महिला र ३ हजार ५४५ जना पुरुष कोरोना संक्रमणबाट निको भएको केन्द्रले जनाएको छ । जिल्लामा करिब ४ हजार सक्रिय संक्रमित विभिन्न संस्थागत तथा होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

करिब ३ हजार बढी संक्रमित होम आइसोलेसनमा छन् । जिल्लामा कोभिडको पहिलो लहरमा १ वर्षसम्म करिब ४ हजार ९ सय बढीमा संक्रमण पुष्टि भएको थियो । १ वर्षको अवधीमा ४ हजार ७ सय बढी संक्रमण मुक्त भएका थिए । अहिले १ महिनामै ठूलो संख्यामा संक्रमित थपिदा उपचारमा समेत समस्या हुदै आएको छ ।

कोभिड संक्रमण भएका बिरामीको उपचार हुदै आएका अस्पतालमा शैया अभाव छन् ।

 

 

१ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech