मन्त्रीले भनेको ‘तातोपानी नाकामा सिलिन्डर आईसकेको भन्ने कुरा झुट

चीनबाट थप चार सय अक्सिजन सिलिन्डर आइपुग्यो,


पिपलबाेट संवाददाता


चीनबाट थप चार सय थान अक्सिजनका खाली सिलिन्डर नेपाल आइपुगेको छ । दिउँसो दुई बजे चीनबाट थप चार सय अक्सिजनका खाली सिलिन्डर र केही थान अक्सिजन कन्सेन्ट्रेटर आइपुगेको नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो ।

महाप्रबन्धक पाैडेलका अनुसार फेरि अक्सिजनका खाली सिलिन्डर लिन निगमको जहाज चीन गएको छ । आज गएको जहाज भोलि साेमवार फर्किने छ । यसअघि पहिलो चरणमा पनि चीनबाट निगमको जहाजले चार सय अक्सिजनका खाली सिलिन्डर नेपाल ल्याएको थियो ।

यसैबीच आज तातोपानी नाकामा चीनबाट १८ हजार अक्सिजनका खाली सिलिन्डर आइपुगेको भन्ने खबरमा कुनै सत्यता नरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो ।  उहाँले नाकामा सिलिन्डर आइपुग्यो भने हल्ला फैलाउने काम भएको बताउनुभयो ।

‘चीनबाट आउँदै छ भन्ने जानकारी आएको छ, तर कति , कसको नाममा र कुन मितिमा भन्ने कुनै जानकारी भन्सार कार्यालयमा पनि आएको छैन’, उहाँले भन्नुभयो । बिहान उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलको सचिवालयले तातोपानी नाकामा १८ हजार खाली सिलिन्डर आएकाे जनाएको थियो ।

यस्तै उपप्रधानमन्त्रीका प्रेस संयाेजकले पनि १८ हजार सिलिन्डर आइसकेकाेबारे फेसबुकमार्फत जानकारी दिनुभएकाे थियाे ।

२ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech