बाँकेमा कोरोना संक्रमणका कारण एक वर्षमा भन्दा वैशाख महिनामा मात्रै झण्डै तेब्बरको संख्यामा मृत्यु भएको छ । दोस्रो लहरको कोरोनाले एक महिनामै धेरैको ज्यान लिएको हो ।२०७७ साल वैशाख १९ गते पहिलो संक्रमित फेला परेको बाँकेमा जेठ ३ गतेबाट मृत्युको सिलसिला शुरु भएको थियो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, २०७७ वैशाख १९ गतेदेखि चैत्र मसान्तसम्मको एक वर्षमा बाँकेमा चार हजार ९ सय ५८ जना संक्रमित भए । त्यसमा चार हजार ७ सय २ जना डिस्चार्ज भए । ५८ जनाको मृत्यु भयो । कोरोनाको हिसाबले बाँके पहिलो वर्ष पनि हटस्पट बनेको छ । यो वैशाख महिनामा पनि बन्यो । संक्रमित र मृत्यु संख्यालाई हेर्दा एक वर्षलाई एक महिनाले धेरै पछाडि पारेको छ । यो एक वर्षलाई २०७८ सालको वैशाख महिनाले मात्रै उछिनेको छ । वैशाखमा दोब्बर बढि संक्रमित भए, झण्डै तेब्बर संख्यामा मृत्यु भएको छ ।
बाँकेको यो तथ्यांकले दोस्रो लहरको कोरोना खतरनाक रहेको देखिन्छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार वैशाख महिनामा दश हजार एक सय १४ जना संक्रमित भए । ६ हजार चार सय ७० जना डिस्चार्ज भएका छन्। मृतकको संख्या एक सय ६७ पुगेको छ । बाँकेमा सुरुदेखि वैशाख मसान्तसम्ममा १५ हजार ७२ जना संक्रमित भएका छन् । एघार हजार एक सय ७२ जना डिस्चार्ज भएका छन्। २ सय २५ जनाको मृत्यु भएको छ ।
पहिलो लहरको कोरोना महामारीमा समयमै संक्रमितको सम्पर्कमा आएका÷रहेकाको सोधीखोजी गरिएको थियो। धेरै संक्रमित देखिएका टोललाई सील गर्ने काम भयो। मृतकलाई नेपाली सेनाले मात्रै व्यवस्थापन गरेको थियो । अस्पतालमा आफन्ती वा कुरुवाको भीड लागेको थिएन। सरकारले चाडै नै लकडाउन गरेको थियो। सावधानीका सवालमा दोस्रो चरणमा केही ढिलाई भएको पाइएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेको वैशाख ३ गतेको बैठकमै भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले तत्काल लकडाउन गर्न पटक–पटक आग्रह गरेका थिए। भर्खरै जिल्लामा आएका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले त्यसलाई गम्भीरतापूर्वक लिएनन् ।
वैशाख ९ गते आएर नेपालगञ्ज एरियालाई निषेधाज्ञा लगाउने काम भयो । यतिबेलासम्ममा ढिला भइसकेको स्वास्थ्यकर्मीहरु बताउँछन्। वैशाख १३ गतेदेखि हालसम्म स्थानीय प्रशासनले जिल्लाभरी नै निषेधाज्ञा लगाइरहेको छ । दोस्रो लहर शुरु भइसक्दा बाँकेमा मान्छेको मुभमेन्ट रोक्न, भारतबाट आएकालाई जाँच गरेर मात्रै घर पठाउने काममा ढिलाई, अस्पतालमा कुरुवा वा आफन्तको भीडभाड, आफन्तीबाट शव व्यवस्थापन र सबैभन्दा खतरनाक त पहिलो चरणको जस्तो सम्झिएर कोरोनालाई सामान्य रुपमा लिइँदा वैशाखमा कोरोनाको आगो दन्किन पुगेको विश्लेषकहरु बताउँछन् ।पहिलो वर्षजस्तो दोस्रो पनि नेपालगञ्ज कोरोनाका हटस्पट नै बन्यो । देशभरीकै ध्यान नेपालगञ्जमाथि प¥यो । यो वर्ष सबैभन्दा खोजीको विषय अक्सिजन प¥यो । अक्सिजनको समस्याको समाधान त अझै भइसकेको छैन। नेपालगञ्जमात्रै नभएर बाँके जिल्ला नै अझै जोखिममा अगाडि नै रहेको छ ।
अनावश्यक बाहिर ननिस्किने, निस्किन परे वा घर आसपासमा रहँदा पनि स्वास्थ्य मापदण्डको पालना गर्न आवश्यक देखिएको छ। जिल्लामा ठूलो संख्या होम आइसोलेसनमा रहेका छन्। होम आइसोलेसनमा रहेकाहरुले चिकित्सकसँग परामर्श लिइरहने र अलिकति अप्ठेरो हुँदा अस्पताल आउने गर्न आवश्यक रहेको चिकित्सकले बताएका छन् ।होम आइसोलेसनमा रहेकाहरु अन्तिम अवस्थामा मात्रै अस्पताल आइपुग्दा मृत्युदर बढेको छ। कतिपयको होम आइसोलेसनमै मृत्यु भएको छ। पछिल्लो दिनमा ओम आइसोलेसनमा बसेकालाई वडाहरुले निगरानी बढाएका छन् । कतिपय वडाध्यक्षहरु चिकित्सक लिएर घरघरमा पुगेका छन् भने केहीले चिकित्सकको सम्पर्क नम्बर दिएर आवश्यक पर्दा सल्लाह लिन सकिने बताएका छन् ।
बन्दाबन्दीमा कालोबजारी र महंगी रोकिएनन्
बाँकेको कोहलपुरमा कोरोना भाइरसका कारण भएको बन्दाबन्दीको मौका छोपी कालोबजारी गर्ने गिरोह उतिकै सक्रिय देखिन्छ । बजारमा आवश्यक पर्ने घरयासी सामग्रीदेखी अन्य सामग्रीहरुमा व्यापारीहरुले आफ्नो मनखुसी मुल्य वृद्धि गराएका छन् । यस तर्फ सम्वन्धीत निकायले बजार अनुगमन गरेतापनी खास्सै प्रभावकारीता भने देखिएको छैन । बन्दाबन्दीको कारण हरेक सामग्रीहरुको मुल्य वृद्धिले आम उपभोक्ताहरुलाई थप पीडा दिएको छ । हाल कोहलपुर क्षेत्रमा हरेक सामग्रीहरुको व्यापारीहरुले मनखुसीले मुल्य तोक्दै आएका छन् ।