भेरी अस्पतालमा अक्सिजन प्लान्ट र पाइपलाइन विस्तारको काम अघि बढेको छ। त्यसका लागि सोमबार लिक्विड अक्सिजन ट्यांक ठड्याइएको छ।
केही दिनदेखि नै अस्पताल परिसरमै ट्यांक ल्याएर राखिएको थियो। ट्यांक जडानका लागि फाउन्डेसन तयार नै थियो। सरकारले भेरीलाई अक्सिजन प्लान्ट, अक्सिजन ट्यांक र पाइपलाइन विस्तारका लागि १५ करोड रुपैयाँ विनियोजन गरेपछि अक्सिजन प्लान्ट र पाइपलाइन विस्तारको काम अघि बढेको हो।
यो स्टोरेज ट्यांक हो। यसमा २० हजार लिटर लिक्विड अक्सिजन जम्मा गर्न सकिन्छ। त्यसलाई ग्यास बनाएर सेन्ट्रल पाइपलाइनबाट बेड–बेडमा सप्लाई गरिन्छ।
भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले अक्सिजन प्लान्ट तयार भएर पाइपलाइनबाट बेडबेडसम्म अक्सिजन दिन सकेमा अक्सिजनको समस्या समाधान हुने बताए। उनका अनुसार सिलिण्डर भरेर ल्याएको भन्दा यसबाट अढाईदेखि तीन गुणा सस्तो पर्न आउँछ। यो शुरु भएपछि अक्सिजनको माग पूर्ति गर्न सहज हुन्छ।
भेरीमा अहिले दैनिक चार सय थान सिलिण्डर खपत भइरहेको छ। तीन सय हाराहारीमा विरामी रहेका छन्। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको समेत रिफरल सेन्टर भएकाले भेरीमा कोरोना संक्रमितको चाप रहेको छ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले हप्ता/दश दिनमा लिक्विड अक्सिजन ट्यांकबाट अस्पतालको सेन्ट्रल लाइनमा पाइप जडान गरेर बेड–बेडमा अक्सिजन सप्लाई गरिने र सिलिण्डरलाई ब्यापकमा राखिने बताए।
भेरीका लागि भारतको जमसेदपुरबाट लिक्विड अक्सिजन मगाइसकिएको छ। कोरोना कहरका बीचमा जमसेदपुरबाट कोहलपुर मेडिकल कलेजमा दुई ट्यांकर लिक्विड अक्सिजन आइसकेको छ।