लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनका दुवै उम्मेदवार भर्खरै पदमुक्त सांसद

पिपलबाेट संवाददाता


लुम्बिनी प्रदेशमा १७ जेठमा हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि एमाले र विपक्षी गठबन्धनले भर्खरै पदमुक्त भएका सांसदलाई नै उम्मेदवार बनाएका छन् ।

एमालेले नेकपा माओवादी केन्द्र त्यागेका चन्द्रबहादुर खड्कालाई उम्मेदवार बनाएको छ भने कांग्रेसले प्रदेशसभाबाट राजीनामा गरेर एमाले परित्याग गरेका दृगनारायण पाण्डेलाई अघि सारेको छ । खड्का र पाण्डे दुवै जनाले दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार उम्मेदवारी गरेका छन् ।

कांग्रेस, माओवादी केन्द्र, जनता समजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार पाण्डे यसअघि लुम्बिनी प्रदेशसभा सदस्य थिए । एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित पाण्डेले पदबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए ।

यस्तै, एमालेका उम्मेदवार खड्का यसअघि माओवादी केन्द्रबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए । तर, एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गरेपछि खड्का पदमुक्त भएका थिए । पदमुक्त भएपछि एमालेले खड्कालाई नै उम्मेदवार बनाएको हो ।

राष्ट्रियसभा सदस्यको उपनिर्वाचन आगामी १७ जेठमा हुँदै छ।

४ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech