कोभिड–१९ को दोस्रो लहर निषेधाज्ञामा समेत दैनिक उपभोग्य वस्तु खाद्यान्न, नुन तेल दाल चाम लगायत पेट्रोलियम पदार्थको आपूर्ति नरोकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । गत वैशाख १६ गतेदेखि निरन्तर जारी निषेधाज्ञाको बाबजुद पनि अन्तरदेशीय आपूर्ति व्यवस्था सहज रहेको र आवश्यक खाद्यान्न, नुन, तेल, दाल चामल लगायत पेट्रोलियम पदार्थको निरन्तर आपूर्ति भइरहेको मन्त्रालयले जनाएको हो ।
त्यसो त निषेधाज्ञाकै बीच पनि निरन्तर सहज आपूर्ति भइरहेका बेला यता दैनिक उपभोग्य वस्तुको मौज्दातसमेत निकै राम्रो रहेको मन्त्रालयले जनाएको छ ।
कुन वस्तुको कति छ मौज्दात ?
मन्त्रालयको तथ्याङ्क अनुसार जेठ ३, २०७८ सम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग १० हजार ४८८ मेट्रिक टन चामल, १५ हजार ९१९ मेट्रिक टन धान र १ हजार २६६ मेट्रिक टन गहुँ मौज्दात रहेको छ । यसमा थप ५ हजार मेट्रिक टन चामल अहिले खरिद प्रक्रियामै रहेको र चाँडैनै खरिद गरी नेपाल ल्याइने मन्त्रालयले जनाएको छ ।
हाल खाद्यसँग रहेको १० हजार क्वीन्टल चामल मध्ये सुगम जिल्लाहरुमा ७९ हजार २७.७० क्वीन्टल र २४ दुर्गम जिल्लाहरुमा २५ हजार ८६१.१४ क्वीन्टल रहेको मन्त्रालयले जनाएको छ ।
नुन तथा चिनी
मन्त्रालयका अनुसार हाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग आयोडिनयुक्त नुन एक लाख ५३ हजार ३३ मेट्रिक टन मौज्दात रहेको छ । यसले आयात नभएको अवस्थापनि घटिमा ९ महिनासम्मको बजार माग धान्न पुग्ने मन्त्रालयको भनाइ छ । यद्यपी नुनको आपूर्तिमा कुनै समस्या नआउने मन्त्रालयले बताएको छ ।
त्यस्तै, चिनीको हकमा हाल साल्टसँग ७१२.७५ मेट्रिक टन मात्र चिनी मौज्दात रहेकोमा, निजी क्षेत्रसँग करिब ५० हजार मेट्रिक टन चिनी रहेको र आपूर्ति व्यवस्थासमेत नियमित रहने हुँदा समस्या नआउने मन्त्रालयले बताएको छ ।
पेट्रोलियम पदार्थ
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाना पकाउने एलपी ग्याससहित पेट्रोल, डिजेल, मट्टितेलको निरन्तर आयात भइरहेको र आवश्यक मात्रामा मौज्दात समेत रहेको बताएको छ ।
नेपाल आयल निगमका अनुसार हालसम्म पेट्रोलियम पदार्थ एवं खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था नियमित र सहज रुपमा भइरहेको छ । आयातमा कुनै अवरोध वा समस्या छैन । निगमका अनुसार मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट अहिले पनि नियमित रुपमा डिजेल आयात भइरहेको छ भने, हालसम्म पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन समेत गरि कुल ५१ ह्जार ५६६ किलोलिटर पेट्रोलियम पदार्थ निगमसँग मौज्दात रहेको छ ।
त्यस्तै खाना पकाउने एलपी ग्यास जेठ २ गते मात्र अधिकतम १० हजार ९५० मेट्रिक टन आयात भइ बिक्री वितरण गरिएको निगमले जनाएको छ ।