दाउ प्रहार गरी भाउजूको हत्या

पिपलबाेट संवाददाता


मोरङ – रंगेली नगरपालिका–३ मा बुधबार बिहान घाँटी रेटेर नहरमा फालिएको अवस्थामा एक महिलाको शव फेला पर्‍यो।

प्रहरीको विशेष टोली घटनाको सूक्ष्म अनुसन्धानमा परिचालन भयो।

घटनाबारे बिहान करिब साढे ७ बजे जानकारी आएको प्रहरीले २ घण्टाको अन्तरालमा हत्यामा संलग्नहरूलाई नियन्त्रणमा लिन सफल भयो।

रंगेली नगरपालिका–३ स्थित तिलुवा चौक नजिकको सुख्खा नहरमा फेला पारेको शव २४ वर्षीया स्थानीय अनिता यादवको रहेको प्रहरीले पत्ता लगायो।

घटनाबारे जानकारी पाएको मोरङ प्रहरी र इलाका प्रहरी कार्यालय रंगेलीको संयुक्त टोलीले शव फेला पारेसँगै अनुसन्धानलाई तीव्र बनायो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईले घटनालगत्तै महिलाको २४ वर्षीय श्रीमान् बेचन यादव रहेको कुरा खुलेको बताए।

महिलाको हत्या घरायसी विवादका कारण भएको प्रहरी अनुसन्धानका क्रममा खुलेको उनले बताए। प्रहरीले अनुसन्धानका क्रममा बेचनसहित मृतकका सासू, ससुरा र देवर विनोद यादवलाई पक्राउ गरेको थियो।

प्रहरीका अनुसार वैशाख ४ गते मंगलबार बेलुका करिब साढे ६ बजे अनिता र बेचनका भाइ विनोद यादवबीच विवाद भएको थियो। नातामा देवर पर्ने १९ वर्षीय विनोदले विवादका क्रममा अनितामाथि आक्रमण गरेका थिए।

विनोदले विवाद बढ्दै गएपछि राति ८ बजेतिर विनोदले दाउले अनिताको घाँटीमा प्रहार गरेको प्रवक्ता राईले जानकारी दिए।

यस क्रममा अनिताको घटनास्थलमै मृत्यु भएको बताइएको छ। अनिताको हत्या भएसँगै शव घरबाट करिब २ किमि दूरीमा रहेको नहरमा लगेर फालिएको थियो।

प्रहरीले विनोदलाई बिहान ९ बजे घरबाटै पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ।

५ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech