बिरामी र कुरुवाका लागि भेरी अस्पतालमा २० रुपैयाँमै खाना

पिपलबाेट संवाददाता


नेपालगञ्ज – भेरी अस्पताल, नेपलगञ्ज। यहाँ लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट बिरामी ‘रिफर’ भएर आउँछन्। कोरोना महामारी भएकाले अहिले त झन् भेरीमा बिरामीको चाप अत्यधिक रहेको छ।

भेरीको कोरोना वार्डमा बिरामी र कुरुवाको भीड रहेको छ। कोरोना महामारीको ‘चेन ब्रेक’ गर्न भन्दै स्थानीय प्रशासनले तीन हप्तादेखि निषेधाज्ञा लगाइरहेको छ। बाहिरी होटल बन्द छन्। यस्तोमा अस्पतालमा आएका बिरामी र कुरुवालाई खानाको समस्या त हुने भइहाल्यो नै।

बिरामी र कुरुवाको यो बिचल्ली देखेर सुन्दरकाण्ड मित्र मण्डलले भेरी अस्पताल परिसरमै अन्जनी माता रसोई सञ्चालन गरिरहेको छ। यहाँ बिहान र बेलुका प्रतिछाक २० रुपैयाँमा खाना खान पाइन्छ।

अस्पताल परिसरमै सस्तोमा खानाको व्यवस्था भएपछि कुरुवा र बिरामीलाई ठूलो राहत भएको छ। मधेसी आयोगका सदस्यसमेत रहेका विजय गुप्ताको अगुवाईमा भेरी अस्पतालमा सस्तोमा खानाको व्यवस्था गरिएको हो।

 

नेपालगञ्ज उपमहानगरपालिकाले खानाका लागि मासिक डेढ लाख रुपैयाँ सहयोग गर्दै आएको छ। दुग्गड ग्रुपले २० दिनको लागि पुग्ने रासन सहयोग गर्न थालेको छ। जिल्ला भित्र र बाहिरबाट पनि सहयोग जुट्न थालेको छ।

महामारीका बेलामा गत वर्ष पनि भेरीमा खाना खुवाइएको थियो। त्यतिबेला उपमहानगरपालिकाले मासिक ५० हजार दिने गरेको थियो। अरु अपुग रकम मित्र मण्डलले सरसहयोगबाट चलाइरहेको थियो।

यो वर्ष कोरोनाको महामारी तीब्र गतिमा अघि बढेपछि खाना खाने बढेका छन्। सुरुवाती चरणमा बिहानमात्रै खाना खुवाउने गरिएको थियो। बेलुका बिरामी र कुरुवाको बिचल्ली भएपछि साँझ पनि खाना खुवाउन सुरु गरियो। बेलुकाको खानाको मूल्य भने ८० रुपैयाँ कायम गरिएको थियो। महामारीको बेलामा थालिएको यो मानवीय कार्यमा देश र विदेशबाट सहयोग हुन थालेपछि साँझको खानाको पनि २० रुपैयाँ कायम गरिएको छ।

सुन्दर काण्ड मित्र मण्डलका प्रवक्ता विमल चन्दले अहिले दैनिक ६ सय जनाले खाना खाइरहेको जानकारी दिए। ‘हामीले बिहान २० र बेलुका ८० रुपैयाँमा खाना खुवाइरहेका थियौँ। सहयोग जुट्न थालेपछि बेलुका पनि २० रुपैयाँ कायम गरेका छौँ,’ प्रवक्ता चन्दले भने, ‘अहिले यहाँ खाना खाने बिरामी र कुरुवा मात्रै छैनन्। विपन्न र गरीब पनि थपिएका छन्।’

 

दिनभरी मजदूरी गर्नेहरु बेरोजगार भएका छन्। रिक्सा चलाउनेहरु थन्किएका छन्। उनीहरु पनि बिहान र बेलुका खाना खान भेरीमा पुग्ने गरेका छन्।

‘गरीब तथा विपन्नहरु पनि खाना खान आउनु हुन्छ। नआउनु भन्नु भएन,’ प्रवक्ता चन्दले थपे, ‘खानाको मात्रा बढेको छ। सहयोग पनि आइरहेकाले हामीले सबैलाई खुवाइरहेका छौँ।’

६ सय जनालाई खाना खुवाउन मासिक आठ लाख खर्च भइरहेको छ। उपमहानगरपालिकाले डेढ लाख, दुग्गड ग्रुपले २० दिनको रासन, डेरीवालाले दूध र मनकारीले सहयोग गरिरहँदा खर्च धानिएको चन्द बताउँछन्।

अस्पताल परिसरमै रहेको रसोईबाट आइसोलेसनमा खाना प्याकिङ भएर गइरहेको छ। कुरुवाहरु एकछिन तल झरेर खाना खान्छन्। जिल्लाका मात्रै नभएर बाहिरबाट आएका बिरामी र कुरुवालाई कहाँबाट खाना ल्याएर खाने भन्ने समस्या रसोईले समाधान गरिदिएको छ।

७ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech