जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरलाई अब प्रधानमन्त्री बनाएर जानुपर्ने बताएका छन्।
यस्तो परिस्थितिमा यादवले शुक्रबार बिहान सेतोपाटीसँग कुराकानी गर्दै पार्टीले अध्यक्ष ठाकुरलाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने बताए।
‘अब ठाकुरजीलाई प्रधानमन्त्री बनाउनुपर्छ। हाम्रो पार्टीले उहाँलाई नै अगाडि सार्छ,’ उनले भने, ‘यस विषयमा अरू पार्टीसँग हामी कुराकानी गर्छौं।’
प्रधानमन्त्री बन्न ठाकुर तयार छन् त भन्ने प्रश्नमा उनले भने, ‘मान्नुहुन्छ होला।’
केही दिनअगाडि जसपाका दुई अध्यक्ष ठाकुर र यादवबीच प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा नजाने बरू आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आए अगाडि बढ्ने सहमति भएको थियो।
संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री भएका ओलीले विश्वासको मत नलिई/राजीनामा नदिई राष्ट्रपतिले बिहीबार संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार बनाउन दलहरूलाई आह्वान गरेकी थिइन्।
राष्ट्रपतिको यो कदम संविधानविपरीत भएको अध्यक्ष यादव बताउँछन्। अब कसरी अगाडि बढ्ने भन्नेबारे अरू दलसँग पनि परामर्श गरिने उनले बताए।