कोहलपुर मेडिकल कलेजमा कोभिडको नि:शुल्क उपचार

पिपलबाेट संवाददाता


नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले कोभिड युनिटमा बेड संख्या बढाएको छ । अस्पतालले १ सय १५ वटा बेड सञ्चालन गरिरहेको थियो। त्यसलाई बढाएर १ सय ३० बेड पुर्‍याएको छ ।

यो संगै उपचार समेत नि:शुल्क गराइएको अस्पतालका उपनिर्देशक डा. नितेश कनोडियाले जानकारी दिनुभयो । शुक्रबारदेखि १ सय ३० बेडमा सरकारी प्रोटोकल अनुसार निःशुल्क गरिएको छ। उहाँका अनुसार अब कोभिडका बिरामीको उपचार निःशुल्क हुन्छ।

शिक्षण अस्पताल कोहलपुरमा कोभिडका बिरामीलाई अक्सिजन, बेड र उपचार निःशुल्क हुने उहाँको भनाई छ । यसैबीच कोभिड संक्रमणका बेला नन कोभिडका विरामीहरु समस्यामा परेको भन्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भने अब पूर्णरुपमा नन कोभिडका बिरामीहरूको मात्र उपचार हुने पनि उहाँले बताउनु भयो ।

सरकारी अस्पतालमा नि:शुल्क उपचार हुने भएकाले विरामीको चाप भेरीमा बढेको थियो। बाँकेमा अझै कोरोना संक्रमितको मृत्युदर घटेको छैन। जिल्लावासीसँगै बाहिरबाट उपचार गराउन आउनेको दैनिक दर्जन आसपासमा मृत्यु भइरहेको छ।

७ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech