लकडाउनमा राप्ती नदीमा ढुंगाजन्य वस्तु उत्खनन

पिपलबाेट संवाददाता


दाङ – लकडाउनको अवधिमा राप्ती नदीमा जेसीबी लगाएर नदीजन्य वस्तु उत्खनन भइरहेको छ।

गढवा गाउँपालिका–५ धर्मपुरमा शुक्रबार कम्तीमा दश वटा बढी जेसिवीले निरन्तर उत्खनन गर्ने र झण्डै ४० बढी टिपर ओसार पसारमा सहभागी थिए।

स्थानीय बासिन्दाले काम रोकिदिएपछि ती सवारी साधन नदीमै छेकिएका छन्। बिहीबारदेखि ढुंगाजन्य वस्तु उत्खनन सुरु भएको थियो।
शुक्रबार बिहान धर्मपुर गाउँका स्थानीयले वातावरणीय प्रभाव मूल्यांकन गरिएको ठाउँभन्दा बाहिरबाट उत्खनन नगर्न अनुरोध गरेका छन् । ‘ऊ त्यो किनारबाट उत्खनन गर्ने भनेर सर्भे भएको थियो ।

तर, अहिले उठाउन थालिएको ठाउँ नयाँ हो’, स्थानीय अगुवा पर्शु चौधरीले भने, ‘अहिले उत्खनन गरिएको क्षेत्र धर्मपुरका गाउँलेले खेतीपाती गर्ने ठाउँ हो।’

बगर खेती गरिँदै आएको ठाउँबाट उत्खनन गरिएको स्थानीयको दाबी छ। जथाभावी उत्खनन गर्दा नदी किनारमा ठूला खाडल परेको छ।
यी खाडलमा पशुचौपाया डुब्ने गरेका छन् । ‘अहिले उत्खनन गरेर खाडल पारिन्छ । वर्षामा पांगो माटो जम्मा हुन्छ र दलदल बन्छ’, चम्पा चौधरीले भने, ‘मान्छे डुब्ने खतरा छ ।’

पालिकाले जहाँ देखायो त्यही ठाउँबाट उत्खननः ठेकेदार

गढवा गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकन गरेर ठेक्का लगाएको ठाउँबाट ढुंगाजन्य वस्तु उत्खनन गरिएको उत्खननमा संलग्न निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् ।

गाउँलेले कुरा नबुझेर काम गर्न नदिएको दाबी छ।

‘हामीले नियमसंगत रूपमा काम गरेका छौं’, एमएण्ड निर्माण सेवा गढवाका प्रतिनिधि खिमबहादुर बुढाले भने, ‘पालिकाले जहाँ देखायो त्यहीँ हामीले काम गरेका छौं।’

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने ढुंगाजन्य वस्तु उत्खनन भइरहेको स्थानको अनुगमन गरिएको र तटबन्धभन्दा ५० मिटर पर वातावरणीय प्रभाव मूल्यांकन गरिएको ठाउँबाट उठाउन दिने सहमति भएको बताए।

‘गाउँलेको सल्लाह र सुझावको आधारमा काम गर्ने सहमति भएको छ’, उनले भने, ‘नियमअनुसार काम गर्न ठेकेदारलाई निर्देशन दिइएको छ।’ अहिले उत्खनन भैरहेको ठाउँ छाडेर अन्यत्रबाट उठाउने सहमति भएको स्थानीयले बताएका छन्।

यसरी उत्खनन भएको ढुंगाजन्य वस्तु क्रसर उद्योगमा डम्पिङ गर्ने गरिएको छ। आर्थिक मसान्त सकिनै लाग्दा र वर्षा लाग्दै गर्दा हरेक वर्ष राप्ती नदीमा ढुंगाजन्य वस्तु उत्खनन गर्न चलखेल हुने गरेको स्थानीय बताउँछन्।

८ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech