कोरोना उपचारमा कर्णाली प्रदेशकै भरोसा बन्दै कर्णाली प्रतिष्ठान

प्रदेशका विभिन्न जिल्लासहित बाँकेमा पनि टोली खटाइयो


धनबहादुर बुढा


जुम्ला- एक साता अघि हुम्लाका एक स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था कोरोना संक्रमणका कारण जटिल बन्दै गएपछि हेलिकप्टरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइयो। उनको अहिले उपचार भइरहेको छ।

झण्डै एक महिना अघि सुर्खेतका ६ जना संक्रमित अस्पताल खोज्दै जुम्ला पुगे। उनीहरुको उपचार कर्णालीमै भयो।

कालिकोट तिलागुफा नगरपालिकाका दुई जना संक्रमितको अवस्था जटिल बनेपछि कोभिड अस्पताल कालिकोटले बिरामी जुम्ला पठायो। दुइजनामध्ये एक जनाको मृत्यु भइसकेको छ भने अर्का एकजनाको उपचार भइरहेको छ।

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा जुम्लास्थित प्रतिष्ठानको शिक्षण अस्पतालमा जुम्लााका मात्र नभई कर्णाली प्रदेशका अन्य जिल्लाबाट समेत उपचारका लागि संक्रमित आउने क्रम बढ्दै गएको छ। प्रतिष्ठानको सेवासुविधा र विज्ञ चिकित्सकको उपस्थितीका कारण यतिबेला प्रतिष्ठान समग्र कर्णाली प्रदेशकै भरोसाको केन्द्र बन्न पुगेको छ।

कर्णालीले स्वास्थ्य सेवा, जनशक्ति र स्वास्थ्य क्षेत्रको अनुसन्धान पनि गर्दछ भन्ने विश्वास गर्न थालिएको छ। जुम्लास्थित प्रतिष्ठानको शिक्षण अस्पताल कोरोना कहरमा सबैको आशा र भरोसाको केन्द्र बनेको स्थानीयले बताउन थालेका छन्।

कर्णाली प्रतिष्ठानबाटै कोरोना संक्रमणका बिरामीको उपचार गर्न चिकित्सकहरु विभिन्न स्थानमा समेत परिचालित छन्।

कर्णालीको मुगु, कालिकोट, हुम्ला, डोल्पा, जुम्लाका सबै स्थानीय तह, पश्चिम रुकुम र बाँके जिल्लामा कर्णालीमा उत्पादित चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन भएका हुन्। उनीहरु दत्तचित्त भएर कार्यक्षेत्रमा कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न भइरहेको प्रतिष्ठानले जनाएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रवक्ता डा रमेश भट्टराई कोरोना विरुद्धको लडाईमा कर्णाली प्रतिष्ठानको झण्डै दुई दर्जन जनशक्ति परिचालन भएको बताउँछन्। उनले भने,‘कर्णाली प्रतिष्ठानको जनशक्ति प्रति सबैको भरोसा छ। चिकित्सक तथा स्वास्थ्यकर्मी तत्कालिन कर्णाली र बाहिरका जिल्लामा खटिएर काम गरिराखेका छन्। कोरोना मैदानमा कर्णाली प्रतिष्ठानले खेलेको भुमिका सन्तोषजनक नै देखिएको छ।’

उनका अनुसार कर्णालीको मुगुमा सहायक प्रध्यापक डा सिद्धार्थ ध्वज खाती र मेडिकल अधिकृत डा रेखा कार्की खटिएका छन्। कालिकोटमा सहायक प्रध्यापक डा रिबिन खापुङ र डा.सुबि बस्न्यात, हुम्लामा सहायक प्रध्यापक डा माणिक न्यौपाने र ओटी सहायक राजबहादुर खत्री, डोल्पामा लेक्चर डा अभिषेक ठाकुर र सिनियर अहेब कर्मेन्द्र न्यौपाने खटिएका छन्।

यसैगरी, पश्चिम रुकुममा सह प्रध्यापक डा अनुप मंगल समाल र लेक्चर शिला थापा खटिएका छन। बाँकेमा सह प्रध्यापक प्रवीण गिरीको नेतृत्वमा ६ जनाको चिकित्सक टोली पठाइएको छ। प्रतिष्ठानले जुम्लाका सबै स्थानीय तहमा रहेका कोभिड अस्पतालमा एक एक जना चिकित्सक खटाएर उपचार सेवा प्रदान गरिरहेको छ।

पहिलो लहरको कोरोना नियन्त्रण र उपचारमा राम्रो भुमिका निर्वाह गरिरहेको कर्णाली प्रतिष्ठानले दोस्रो लहरमा पनि आफूलाई अब्बल सावित गर्न कसरत गरिरहेको छ।

प्रवक्ता डा रमेश भट्टराईले कोरोना नियन्त्रण र उपचारमा कुनै कसर बाँकी नरहेको बताए। उनले भने,‘पहिले सामान्य उपचारका लागि भौतारिने कर्णालीले अहिले कोरोना महामारीको समयमा राम्रो चिकित्सक र उपचार सेवा दिएर प्रशंसा बटुलिरहेको छ। यो भन्दा कर्णालीको लागि खुसिको कुरा के हुन सक्छ।’

प्रतिष्ठानमा छातिरोग विशेषज्ञको नेतृत्वमा १२ बेडको आइसीयू, २४ बेडको एचडीयू तथा ८४ बेडको वार्ड गरि १ सय २० बेड कोरोना उपचारका लागि व्यवस्थापन गरिएको छ।

प्रवक्ता डा. रमेश भट्टराईले हाल अक्सिजन प्लान्टबाट र ११० अक्सिजन सिलिण्डरले अक्जिसनको व्यवस्थापन भइरहेको बताए। ‘बिरामीको चाप बढ्दो क्रममा छ,’ उनले भने,‘प्रदेश सरकारसंग समन्वय गरेर थप ३६० सिलिण्डर खरिद प्रक्रिया शुरु भइसकेको छ। केन्द्र सरकार संगको समन्वयमा थप अक्सिजन प्लान्ट र बुस्टर खरिद गरि अक्सिजनको व्यवस्थापन गर्न लागि परेको छ। ’

प्रतिष्ठानले पिसिआर परिक्षणलाई निरन्तरता दिँदै आएको पनि उनले बताए।

८ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech