टिकापुर घटनामा दोषी ठहर भएर जेल जीवन विताइरहेका जसपाका साँसद रेशम चौधरी पनि रिहा हुने भएका छन् ।
उनलाई अदालती प्रक्रिया पुरा गरी रिहा गर्ने प्रधानमन्त्री केपी ओली र जसपाका महन्थ ठाकुर पक्षबीच सहमती भएको थियो । सो सहमती अनुसार सम्भवत भोलीदेखि नै उनलाई रिहा गर्ने सम्बन्धी अदालती प्रक्रिया सुरु हुने स्रोतले जनाएको छ । जसपा साँसद प्रमोद साहले पनि सो कुराको पुष्टि गरेका हुन् ।
जसपा अध्यक्ष महन्थ ठाकुर पक्षले सरकारमा सहभागी हुन मुख्य मुद्दा नै रेशम चौधरीको रिहाइलाई बनाएको थियो । महन्थ पक्षको आग्रह अनुसार प्रधानमन्त्री केपी ओलीले मधेस आन्दोलनका बेला चलाएका कतिपय मुद्दाहरु फिर्ता लिइसकेका छन् । केहि मुद्दा फिर्ता लिने प्रक्रियामा छ ।
नागरिकता सम्बन्धी समस्या समाधन आजैबाट भइसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश ल्याएपछि अब जनसिद्धका सन्तानले पनि नागरिकता पाउने बाटो खुलेको छ । अब सरकारले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्ने बुझिएको छ । संविधान संशोधनका लागि समेत सरकारले कार्यदल बनाइसकेका छ । रेशम चौधरीलाई रिहा गर्ने प्रक्रिया सोमवारबाट सुरु भयो भने मंगलवार जसपा महन्थ ठाकुर पक्षले ओली सरकारमा सहभागी हुने सम्भावना बढेको छ । मंगलवार नै जसपा सरकारमा सहभागी हुने र सहमती अनुसार ८ मन्त्री शपथ लिने स्रोतको दावी छ ।