पाँच बुँदे माग सहित नेपाल शिक्षक संघद्धारा कोहलपुर नगरलाई ज्ञापन पत्र

पिपलबाेट संवाददाता


नेपाल शिक्षक संघ कोहलपुर नगर कार्य समितिले कोहलपुर नगरपालिकालाई विभिन्न पाँच बुँदे माग सहित ज्ञापन पत्र बुझाएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतलाई विभिन्न पाँच बुँदे माग राख्दै शिक्षक संघ कोहलपुरले ज्ञापन पत्र बुझाएको छ । नेपाल शिक्षक संघ कोहलपुरका अध्यक्ष दिपक मल्लद्धारा बुझाईएको ज्ञापन पत्रमा संघीय सरकारले घोषण गरे बमोजिमको बालविकास शिक्षक र विद्यालय कर्मचारीको तलब सात हजारका दरले आफ्ना स्थानीय तहको संख्या एकिन गरी बजेट बिनियोजन गर्ने, कोहलपुर नगरपालिकाबाट अनुदान कोटाको हकमा संघीय सरकारबाट तह गत रुपमा प्राप्त हुने तबल मान तथा मंहगी भत्ता अनुरुप बराबर गर्न यस वर्षको बजेटमा सुनिश्चत गर्नुपर्ने लगायतका माग ज्ञापन पत्र माफर्त राखिएको छ । साथै विद्यालय भौतिक रुपमा खुल्नुपूर्व शिक्षक तथा कर्मचारीलाई कोरोना भ्याक्सिनको व्यवस्थापन र त्यसको लागि बजेटको प्रबन्ध गरिनुपर्ने, हाल विद्यालयमा शिक्षकलाई भ्याक्सिन नलगाएको अवस्थामा समेत नतिजा प्रकाशनको कार्य तथा अन्य तथ्यांकिय कार्यका लागि ताकेता भएकाले शिक्षकहरुको स्वास्थ्य सुरक्षाको यथाशिघ्र प्रबन्ध गर्न व्यवस्था मिलाउन माग गरिएको शिक्षक संघ कोहलपुरका अध्यक्ष मल्लले बताएका छन् ।
बालविकास शिक्षक र कर्मचारीको सात हजार तलब उपलब्ध गराउनुपर्छ ः सचिव शर्मा
नेपाल शिक्षक संघ बाँकेका सचिव ऋषि शर्माले संघीय सरकारका अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुलाई न्यूनतम १५ हजार उपलब्ध गराउने घोषण गरे पनि संघीय सरकारले ८ हजार मात्र उपलब्ध गराउने जानकारी दिएको बताउँदै बाँकी रकम स्थानिय तहले व्यवस्था गर्नुपर्ने बताएका छन् । बाँके जिल्लाका आठ वटै स्थानिय तहहरुले बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुको सात हजार तलबको सुनिश्चित गर्नुपर्ने नेपाल शिक्षक संघ बाँकेको माग रहेको बताएका छन् । विद्यालय तहका कर्मचारी र बालविकास शिक्षकहरुलाई संघीय सरकारले घोषण गरे अनुसारको तलबको व्यवस्था गर्न सबै स्थानिय तहहरुलाई आग्रह गर्दै आफ्ना मागहरु पुरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने बताएका छन् । साथै कोहलपुर नगरपालिकाले अनुदान कोटाका शिक्षकहरुलाई दिँदै आएको मासिक तलबलाई वृद्धि गर्दै संघीय सरकारले प्रदान गर्दै आईरहेको तलब अनुसार नै अनुदान कोटाका शिक्षकहरुलाई तलब उपलब्ध गराउनका लागि बजेटको व्यवस्था गर्न सुझाव समेत दिएका छन् । शिक्षकहरुका हक र अधिकारीका लागि नेपाल शिक्षक संघले विभिन्न कालखण्डमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउँदै शिक्षकहरुका वर्तमान समस्याहरु समाधान गर्न राज्यसँग अनुरोध गरेका छन् ।

२३ जेष्ठ २०७८ मा प्रकाशित
Nabintech