बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ का नेपाली काँग्रेसका यूवाहरुले नेपाली काँग्रेस पार्टी कार्यालय बाँकेमा तालाबन्दी गरेका छन् । कोहलपुर नगरपालिका वडा नं. २ नेपाली कांग्रेस कार्य समितिले विधि पद्धति विपरित पार्टीमा सक्रिय भएर काम गरिरहेकालाई क्रियाशिल वितरण नगरी पार्टीका विरुद्ध लागिरहेकालाई क्रियाशिल वितरण गरिएको भन्दै नेपाल विद्यार्थी संघका पूर्व आमन्त्रीत केन्द्रीय सदस्य कमल शाही नेतृत्वको यूवा समूहले पार्टी कार्यालय बाँकेमा तालाबन्दी गरेको छ । नेविसंघका पूर्वकेन्द्रीय सदस्य शाहीका अनुसार कोहलपुर नगरपालिका वडा नं. २ नेपाली कांग्रेस कार्यसमितिले विधि पद्धति विपरित २०७४ को स्थानीय, प्रदेश र संघीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वारलाई हराउन लागेका, माओवादी, एमाले र राप्रपाका कार्यकर्ता र बाहिरी जिल्लामा मतदाता नामावली भएका व्यक्तिहरुलाई क्रियाशिल दिने तर योग्य सक्षम र निरन्तर पार्टीमा योगदान गरेका कार्यकर्ताहरुलाइ क्रियाशिल सदस्यताबाट बन्चित गरिएकोले पार्टी नेपाली काँग्रेस बाँके पार्टी कार्यालयमा तालाबन्दी गरिएको हो । पार्टीका लागि विभिन्न समयमा संघर्ष गरिरहेकालाई सदस्यता नदिएर आफ्नो मनोमानि रुपमा क्रियाशिल वितरण कार्य गलत भएकाले तालाबन्दी गरिएको र पार्टीको क्रियाशिल सदस्यता वितरण नसच्याए चरणबद्ध आन्दोलन गर्ने उनले बताएका छन् । त्यस्तै कोहलपुर नगरपालिका वडा नं. १० ले पनि आफ्नो वडामा शतपतिशत क्रियाशिल सदस्यता नपाएको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । कोहलपुर नगरपालिका वडा नं. १०का वडा सभापति ओम प्रकाश वर्णवाल, उपसभापति मेघनाथ भट्टराई, सचिव सन्तोष पौडेलले पार्टीको क्रियाशिल सदस्यता वितरणमा वडा नं. १० लाई शतप्रतिशत क्रियाशिल उपलब्ध नगराएका कारण तालाबन्दी गर्नु परेको बताईएको छ ।