कोहलपुर नगरपालिकाको नीति तथा कार्यक्रम पारीत

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकाको नवौंं नगर सभामा पेश भएका नीति तथा कार्यक्रमहरु सर्वसम्मत रुपमा पारित भएको छ । केहि बुँदाहरुमा संशोधन गर्दै नगरसभामा पेश भएको नीति तथा कार्यक्रमहरु पारित गरिएको छ । नगरसम्ममा केहि वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुले नीति तथा कार्यक्रम माथि आफ्ना भनाईहरुराखेर नगर सभामा पेश भएका कार्यक्रमहरु पारित भएको कार्यपालिका सदस्य भिम बहादुर नेपालीले बताएका छन् ।
असार ७ गतेबाट सुरु भएको नगर सभामा कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए । सो नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई पहिलो प्राथमिकता दिईएको छ । नगर प्रमुख रावतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड–१९ को दोस्रो लहर तथा भावि दिनमा आउन सक्ने सम्भावित तेस्रो लहर लगायत अन्य महामारीको रोकथाम, नियन्त्रण, उपचार र खोपको भरपर्दो व्यवस्था गरी सबै नगरबासीको जीवन रक्षा गर्ने साथै कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचारका लागि अग्रभागमा खटिने स्वास्थ्यकर्मी तथा अन्य जनशक्तिहरुको लागि आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री र उपकरणहरुको पर्याप्त मात्रामा आपूर्ति तथा व्यवस्थापन गरिने तथा उद्धार, शव व्यवस्थापन, राहत तथा पुर्नस्थापना र नागरिक सचेतनाका कार्य गर्नुका साथै कोभिड–१९ बाट मृत्यु भएका नगरवासीका आश्रित परविारलाई प्रति परिवार ५० हजार राहत उपलब्ध गराउने नीति लिईएको नगर प्रमुख रावतले बताएका छन् । साथै आगामी श्रावण महिनादेखि जनशक्ति र पूर्वाधारको व्यवस्थापन गरी १५ शैय्याको आधारभूत अस्पतालबाट ओपिडि सेवा सञ्चालन गर्ने र अस्पतालबाट गरिबीको रेखामुनि रहेका नगरबासीलाई निःशूल्क उपचार गरिने बताएका छन् ।
त्यस्तै अनिवार्य तथा शूल्क आधारभूत शिक्षा नीतिलाई माध्यामिक तहसम्म क्रमशः निरन्तरता दिईने, विद्यालय शिक्षामा ल्याउने, टिकाउने र सिकाउने कार्यक्रम सञ्चालन गर्ने, बालबिकास र कक्षा १ मा शत प्रतिशत विद्यार्थी भर्ना गरिने, “एक वडा–एक नमूना बालविकास केन्द्र” अभियान सञ्चालन गर्ने, सूचना प्राविधि युक्त शिक्षकसँग मेयर कार्यक्रम लागु गर्ने, विपन्न बालबालिकासँग उपमेयर कार्यक्रम संचालन गर्ने, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबा एमबिबिएस डाक्टर तथा महिला नर्स छात्रवृत्तिमा पढन पाउने व्यवस्थाका लागि एक डाक्टर एक नर्स कार्यक्रम सञ्चालन गर्ने, एक विद्यालय एक खेलकुद शिक्षक र एक विद्यालय एक स्वास्थ्यकर्मी को व्यवस्था गर्ने नीति लिईएको नगर प्रमुख रावतले बताएका छन् ।
त्यस्तै कृषि तर्फ “किसानको मान, कोहलपुरको पहिचान” भन्ने नारासहित कृषि कार्यमा संलग्न उत्कृष्ट उद्यमी÷कृषि उद्यमी÷ कषि सहकारी÷समूहलाई नगर प्रमुख उत्कृष्ट कृषक÷कृषि उद्यमी÷कृषि सहकारी÷समूह” पुरस्कारले पुरस्कृत गर्ने, “घर–घरमा महिला कृषक उद्यमी, आउनेछ घरमा शान्ति र समृद्धि” भन्ने नाराका साथ महिला कृषक र सहकारी लक्षित कार्यक्रम सञ्चलान गर्ने, नगरपालिकालाई तरकारी, खाद्यान्न फलफुल दुग्ध र अण्डामा आत्मनिर्भर बनाउने र “एक घर दुई फलफुलको विरुवा” को कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । साथै स्थानिय तहका जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि कोहलपुर नगरपालिमा १२ वडा कार्यालय, १२ आधारभूत स्वास्थ्य केन्द्र र १५ सामुदायिक विद्यालयहरुको भवन निर्माण गरिएको, आधारभूत तहको शिक्षालाई पूर्ण रुपमा निःशूल्क बनाइएको, शिक्षक दरबन्दी मिलान गरी नगर अनुदानबाट थप शिक्षक पूर्ति काम भईरहेको बताईएको छ ।
यसका साथै कोहलपुर नरपालिकाको नीति तथा कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक नीति, दलित, अपाङ्ग, आदिवासी जनजाति तथा अन्य विपन्न वर्ग नीति, भाषा साहित्य र ललितकला नीति, आभारभूत स्वास्थ्य सेवा नीति, खानेपानी तथा सरसफाई नीति, सूचना तथा सञ्चार नीति, सहकारी नीति तथा वित्तीय नीति, पर्यटन नीति, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण नीति, श्रम, रोजगार, गरिबी निवारण तथा उद्यमशिलता विकास नीति, शहरी योजना तथा पूर्वाधार विकास नीति, भूमि व्यवस्थापन नीति, स्थानीय सेवा, संस्थागत विकास र सुशासन नीति, कर सेवा शूल्क तथा राजश्व नीति, वन तथा वातावरण संरक्षण नीति, विपद् व्यवस्थापन नीति, न्यायिक समिति तथा सामुदायिक मेलमिलाप सेवा नीति लगायत नीति लिईएको थियो । आज (बिहीबार) कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले आर्थिक वर्ष २०७८÷०७९को बजेट प्रस्तुत गर्ने भएकी छिन् ।

९ असार २०७८ मा प्रकाशित
Nabintech