विवादका बिच आयो कोहलपुर नगरको १ अर्ब १७ करोड बजेट, आवश्यकता भन्दा बाहिरको बजेट

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकाको बजेट विवादका बिचमा आएको छ । एमालेबाट निर्वाचित नगरप्रमुख लुट बहादुर रावत सहित जनप्रतिनिधि र काँग्रेसबाट निर्वाचित उपप्रमुख सञ्जु कुमारी चौधरी सहितका जनप्रतिनिधि बिचको विवाद कायम रहदा रहँदै बजेट आएको छ । कोहलपुर नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ का लागि १ अर्ब, १७ करोड ३० लाख, २८ हजार ८५२ रुपैयाँको बजेट आर्थिक विकास समितिका संयोजक डिल बहादुर परियारले प्रस्तुत गरेका छन् ।
यस कारण विवाद
विशेष गरी स्थानिय तहको नीति तथा कार्यक्रम नगरप्रमुखले ल्याउने र बजेट उपप्रमुखले ल्याउने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले असार ७ गते पेश गरेको नीति तथा कार्यक्रम असार ९ गते संशोधन सहित पारित भएको हो । असार १० गते बजेट ल्याउनुपर्ने कानूनी व्यवस्था अनुसार बिहीबार बजेट नगरसभामा पेश गर्नुपर्ने संवैधानिक प्रावधान रहेकाले कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले बजेट भाषण गर्नुपर्ने हुन्थ्यो । तर काँग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको विवादका कारण उपप्रमुखले बजेट भाषण नगरेर आर्थिक विकास समितिका संयोजक डिल बहादुर परियारले गरेका हुन् ।
साथै बजेट तर्जुमा समितिकी संयोजक सञ्जु कुमारी चौधरीका अनुसार विषयगत शाखाहरुबाट संशोधित नीति तथा कार्यक्रम अनुसार बजेट तर्जुमा गरेर आउन नसकेको र बजेट तर्जुमा समितिमा एमाले निकट जनप्रतिनिधिहरुले पुरानै नीति तथा कार्यक्रम अनुसारको बजेट ल्याउनुपर्ने भनेपछि विवाद सिर्जना भएको बताईन् । साथै विभिन्न चरणको छलफलबाट सहमति भएपछि बजेट भाषण गर्न सभामा आफुहरु जाँदा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले सभा बहिस्कार गरेका कारण आफुले बजेट भाषण नगरेको कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले बताएकी छिन् । नगरसभामा बजेट भाषणका लागि आफु उपस्थिति हुँदा नगरप्रमुख सहित एमालेबाट निर्वाचित जनप्रतिनिधि सभा बहिस्कार गरेका कारण आफुले नगरसभामा बजेट पेश गर्न नपाएको बताएकी छिन् । विशेष गरी स्वास्थ्य, शिक्षा, कृषि र रोजगार आफुहरुको एजेण्डा भएकाले कोहलपुर नगरपालिका वडा नं. १५मा रहेको स्वास्थ्य चौकीलाई वडा नं. १५, १४, ८, ९ र ७ का जनताका लागि सुविधा सम्पन्न अस्पताल वडा नं. १५ मा बनाउन प्रस्ताव गर्दा सो प्रस्तावलाई अस्वीकार गरिएको बताएकी छिन् । ‘स्वास्थ्य, शिक्षा र राजगारीलाई आधार बनाई मैले बजेट तयार गरेकी हुँ, तर उनीहरुले पूर्वाधार विकास तर्फ भ्यूटावर, कर्भड हल, बसपार्क लगायतमा बजेट बिनियोजन गर्नुपर्ने भन्दै दबाद दिए’ उनले भनिन् ‘अहिलेको आवश्यकता पूर्वाधार विकास नभएर जनतालाई रोग, भोगबाट बचाउनु र रोजगारी सिर्जना गर्नुपर्ने समय हो, हामीले त्यहि कुरालाई जोड दिएका हौं ।’
यता कोहलपुर नगरपालिकाका आर्थिक विकास समितिका संयोजक डिल बहादुर परियारले नेपाली काँग्रेसबाट निर्वाचित उपप्रमुख सहितका जनप्रतिनिधिहरुले नगरसभा बहिस्कार गरी सभा स्थलबाट बाहिए पछि स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ७१ को उपदफा १ बमोजिम कार्यपालिकाको बैठकको निर्णय अनुसार आफुले बजेट भाषण गरेको बताएका छन् । साथै उनले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बजेट कार्यपालिका बैठकमा छलफल नगरी सिंधै नगरसभामा पेश गर्न खाजेको बताएका छन् । बजेट माथि छलफल गर्नका लागि असार १३ गते पुन नगरसभा बोलाईएको छ ।

१० असार २०७८ मा प्रकाशित
Nabintech