राप्तीसोनारी ८ मा पूर्ण सरसफाई अभिवृद्धि कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं. ८ सम्शेरगंजमा बुधबार बजार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बाँकेको आयोजना र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेको सहयोगमा १ दिने पूर्ण सरसफाई चेतना अभिवृद्धि तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बाँकेका अध्यक्ष भद्र बहादुर देवकोटाले बताए ।

उक्त १ दिने पूर्ण सरसफाई चेतना अभिवृद्धि तथा सरसफाई कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष देवकोटाले आफ्नो घर आगनको फोहरलाई व्यवस्थापन गर्नका लागि उपभोक्ताहरुले चासो राख्नुपर्ने र सार्वजनिक ठाँउहरुमा फोहोर व्यवस्थापनमा सबै सरोकारवालाहरुले चासो राख्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बाँकेका कोषाअध्यक्ष याम बहादुर रावतले पूर्ण सरसफाईको अभियानलाई स्थानिय तहहरुसंग सम्वन्य गरी आम उपभोक्ताहरुलाई सचेत गराउनुपर्ने बताएका छन् । साथै कोषाअध्यक्ष रावतले शुद्ध खानेपानी पिउने अभियानलाई अगाडी बढाउने बताएका छन् ।
उक्त १ दिने प्रशिक्षण कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेकी अधिकृत हिम कुमारी पुन, मेनका आर्चाय ,भगवती न्यौपानेले सहभागीहरुलाई प्रशिक्षण दिएका थिएका थिए ।

लामो समयदेखी कोरोना भाइरसका कारण भएको बन्दाबन्दीका कारण वडामा विभिन्न चेतनामूलक तथा सरसफाईका कार्यक्रममा बन्द रहेका थिए । बन्दाबन्दी खुकुलो भएपछी राप्तीसोनारी गाँउपालिका वडा नं. ८ मा विकास निर्माणमा योजनाहरु र अन्य लक्षित वर्गका कार्यक्रमहरु ,सरसफाईका कार्यक्रमहरुलाई तिव्रता दिइएको छ । पुर्ण सरसफाई चेतना अभिवृद्धि तथा अभिमुखिकरण कार्यक्रममा राप्तीसोनारी गाँउपालिका वडा नं. ८ का जनप्रतिनिधी , राजैनिक दलका प्रमुख तथा प्रतिनिधी, सामुदायिक वन उपभोक्ता समितीका पदाधिकारी ,उपभोक्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

१६ असार २०७८ मा प्रकाशित
Nabintech