नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधी र केन्द्रीय सदस्य शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।
सोमबार काठमाडौंको पुरानो बानेश्वरस्थित निधीको निवासमा निधी र कोइरालाबीच भेटवार्ता भएको हो । दुबै नेताहरूका बीच के विषयमा कुराकानी भएको थियो केही भनिएको छैन ।
स्रोतका अनुसार निधी र कोइरालाबीच १४औँ महाधिवेशनमा मिलेर जाने विषयमा कुराकानी गरेका छन् । निधी र कोइरालाले एउटै टिम बनाउने विषयमा समेत छलफल गरेका छन् ।
उनीहरूले सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई सभापति पदमा जित्न नदिने गरेर रणनीति बनाएको समेत आरोप छ ।
सभापति शेरबहादुर देउवाको समूह छाडेर आफ्नै गुट खडा गरेका निधीले १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । निधीले आफूलाई समर्थन गर्न विभिन्न गुटका नेताहरूसँग आग्रह गर्दै आएका छन् ।
शेखर कोइराला पनि कांग्रेसको सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । कोइरालाले पनि आफ्नै गुट सञ्चालन गर्दै आएका छन् ।
सभापति देउवाको आलोचना गर्दै आएका कोइरालाले कृष्णप्रसाद सिटौलाको समूहलाई सबैभन्दा धेरै क्षति पुर्याएका छन् ।
सिटौला समूहका युवा नेताद्वय गगन थापा र प्रदी पौडेललाई आफ्नो गुटबाट पदाधिकारीमा उम्मेदवार बनाउन कोइराला प्रयासरत छन् ।
निधी र कोइराला देउवा–पौडेललाई सभापतिमा सहयोग गर्ने पक्षमा छैनन् । उनीहरूले १४औँ महाधिवेशनमा देउवा–पौडेललाई सभापतिमा रोक्ने पक्षमा छन् ।