देउवा, पौडेल र सिटौलाले अब नेतृत्वमा दाबी नगर्नुस्

पिपलबाेट संवाददाता


प्रकाशमान सिंह कांग्रेसका पूर्वउपसभापति तथा पूर्वउपप्रधानमन्त्री हुन् । उनी कांग्रेसका संस्थापक नेता गणेशमान सिंहका छोरा हुन् । पछिल्लो समय बीपी कोइरालाका छोरा शशांक कोइराला, सिंहका छोरा प्रकाशमान र महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधिबीच भइरहेको वार्ता छलफलले सो पार्टीभित्र तरंग सिर्जना गरेको छ ।

प्रस्तुत छ, के यो गठबन्धन महाधिवेशनसम्मै कायम रहला ? या आन्तरिक स्वार्थमा फेरि अलमलमा पर्लालगायतका विषयमा केन्द्रित रहेर नेता सिंहसँग बाह्रखरीका बलराम पाण्डे र रमेश वाग्लेले गरेको कुराकानी : 

पछिल्लो समयमा तपाईंहरु तीनजना नेताहरुको सक्रियताले कांग्रेसमा एकखाले तरङ्ग पैदागरेको छ । तीनजनाले के सन्देश दिन खोज्नुभएको हो ? यसको राजनीतिक अर्थ पनि छ ? 

तीनजना बसेर हामीले लगातार छलफल गरेका छौँ । हाम्रो एजेन्डा नै पार्टीलाई बलियो बनाउने हो पाट अहिले अस्तव्यस्त अवस्थामा छ । यो अवस्थामा पार्टीलाई व्यवस्थित गर्नुपर्नेछ ।

हाम्रै आँखा सामुन्ने हामीले देखेका छौँ, आन्दोलन कसरी भएको थियो, कसले कसरी कुर्वानी गरेको छ भन्ने कुरा हामीले नजिकबाट देखेका छौँ । त्यो संघर्षबाट आएको यो लोकतान्त्रिक व्यवस्थालाई जोगाएर अघि लैजानका लागि हामी छलफलमा जुटेका हौँ ।

पार्टी व्यवस्थित नहुँदा समस्या देखिएको छ । मैले देखेको कुरा के हो भने कांग्रेस जसले लोकतन्त्रका लागि त्यति धेरै संघर्ष र बलिदानी दिएको छ । यसभित्रै आन्तरिक लोकतन्त्रको अभ्यास एकदम शून्य छ ।

महाधिवेशनसम्मै रहन्छ तपाईंहरुको एकता ? 

कार्यकर्ताहरुको माग र चाहनाअनुसार हामी कुराकानी गरिरहेका छौँ । हाम्रा जिल्लास्तरीय नेता कार्यकर्ताको चाहना के हो भने पार्टीलाई यसरी अस्तव्यस्त अवस्थामा छोडिनुहुन्न । सिनियर लिडर्स भन्दैमा पर्फम नै गर्न नसक्नेहरुलाई राखेर कांग्रेस कमजोर बनाउनु हुँदैन ।

कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुन्छ भन्ने हो । हुन पनि यही कारण प्रजातन्त्रमा समस्या आएको छ ।

यसलाई व्यवस्थित गर्नुपर्‍यो भन्ने कार्यकर्ताको माग चाहनाबमोजिम हामी लगातार छलफलमा जुटेका हौँ ।

तर, लामो समय पार्टीमा काम गर्नुभएका र नेतृत्वमा पुग्नुभएका उहाँहरुलाई सम्मानजक स्थान दिनुपर्छ ।

नेपालमा लोकतन्त्र स्थापना र पुनःथापनामा उहाँहरुले विशिष्ट भूमिका निर्वाह गर्नुभएको छ ।

सम्मानजनक स्थान रामचन्द्र पौडेल, शेरबहादुर देउवालाई दिने भन्न खोज्नुभएको हो ? 

रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला । १३ औँ महाधिवेशनमा प्रतिष्पर्धा गरेका नेताहरु सम्मानजनक स्थानमा बसिदिनुस् भन्ने नै हाम्रो चाहना हो ।

भनेको उहाँहरुले नेतृत्वमा दावी नै नगर्ने ? 

नेतृत्वमा दाबी नगरिदिनुस् भनेका छौँ । अब उहाँहरुले सल्लाह र सुझाव दिने हो । उहाँहरुसँग जुन अनुभव छ, त्यो अरुसँग छैन, त्यो अनुभवलाई पार्टीलाई राम्रो बाटोमा लैजान र राष्ट्रको समस्या समाधान गर्नमा खर्चिदिनुहोस् । राष्ट्रलाई संकट पर्दा संकटबाट बाहिरिन उहाँहरुका सुझाव आउन् । त्यो कांग्रेसका आम कार्यकर्ताको चाहना हो ।

तपाईंहरु तीनजनामध्ये सबै सभापतिको आकांक्षी हुनुहुन्छ । फेरि तपाईंहरु एकै ठाउँमा हुनुहुन्छ, सभापतिको उमेदवार त एकजना हुने हो । तपाईंहरुबीच तीनमध्ये को सभापति बन्ने भन्ने पनि तयारी भएको छ ? 

सबैलाई सबैजना आकांक्षी हो भन्ने कुरा थाहा छँदै छ । तीनैजना आउँदै गरेको महाधिवेशनमा पार्टीको सभापति हुने चाहना राखेका व्यक्तिहरु नै हौँ । तर, कुरा के हो भने सभापतिको पद त एउटा मात्रै छ ।

यस्तो अवस्थामा वर्तमान परिस्थितिअनुसार तीनजनामध्येमा कसले नेतृत्व लिँदा बढी कार्यकर्ताको स्वीकार्य हुन्छ उही अघि बढ्नुपर्छ ।

पार्टीमा काम कसले बढी गरेको छ, वरिष्ठताको आधार पनि हेर्नुपर्छ ।

यो सहमतिको खोजी भन्ने कुरा सहज त छैन । तर, केही प्यारामिटर त होलान् नि त सहमतिका लागि । फेरि तीनजना बसेर गरेको निर्णय सबैले मान्नैपर्छ भन्ने पनि छैन । तर बढीजसो कार्यकर्ताले स्वीकार्न सक्ने व्यक्ति हुनुपर्छ भन्ने हो ।

हामी अहिले पनि सामूहिक नेतृत्वमा विश्वास गर्छौँ । अब यस्तो अवस्थामा पार्टीको नेतृत्व कसले गर्ने अरु नेता कता रहने भन्ने विषयमा सहमति हुन बाँकी नै छ ।

बाहिर चर्चा चाहिँ एकजना पार्टी सभापतिको उमेदवार बन्ने, एकजना प्रधानमन्त्री र अर्को एकजना राष्ट्रपतिको उमेदवार बन्न सकिन्छ भन्नेमा हुनुहुन्छ भन्ने छ, त्यही हो ?

होइन, होइन त्यस्तो भएको छैन र सायद हुँदैन पनि । तपाईंले भन्नुभयो नि राष्ट्रपति बन्ने, राष्ट्रपति बनेर अहिले नै सक्रिय राजनीतिबाट विश्राम लिने अवस्थामा चाहिँ तीन जनामध्ये कोही पनि देखिएको छैन ।

समय सुहाउँदो किसिमले को सभापति हुने, को उपसभापति भएर बस्नुपर्ला यसबारेमा कुराकानी भएको छैन । कोही महामन्त्री बन्नुपर्ला, कसलाई अघि सार्नुपर्ला भन्ने निर्णय भएको छैन ।

चुनावमा पार्टी राम्रोसँग हाक्न सकियो भने त जनताको विश्वास आर्जन हुन्छ । त्यसरी विश्वास आर्जन गर्न सक्यो भने सरकारको नेतृत्व पनि कांग्रेसकै हातमा आउँछ ।

धेरै कुराहरु त्यसमा हुन्छन् । ठाउँ नभएका होइनन् । तर, मुख्य कुरा सबैले आआफ्नो राजनीतिक पृष्ठभूमिअनुसार दाबी गर्ने र स्थापित हुने कुरा त हुन्छन् नि त ।

तपाईंहरु आफैँ नेताका छोराहरु हुनुुहन्छ । तपाईंहरुलाई जसले अघि सारे यसअघि, उनीहरुलाई विश्राम लिनुस् भनेरमात्रै होला त ?

त्यसो होइन । कसले को नेता मानेको भनेर नहेरौँ । लोकतान्त्रिक अभ्यासमा हुने प्रतिस्पर्धामा कसले नेतृत्व गर्दा पार्टीको बढी हित हुन्छ, देशलाई राम्रो हुन्छ भन्ने छनोट हुन्छन् ।

स्वस्थ प्रतिस्पर्धाका लागि पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा महाधिवेशनमा फरक नेता र फरक समूह बन्ने कुरा त फरक हो ।

त्यसमा भाग लिँदैमा हामी रामचन्द्र पौडेल र शेरबहादुर देउवालाई पछि पार्छौँ भन्ने त होइन ।

उहाँहरु पनि हाम्रै नेता हो ।

हाम्रो त डेमोक्र्याटिक पार्टी हो, कसलाई सभापति बनाउँदा पार्टीलाई बलियो बनाउन सकिन्छ भन्ने छनोट त कायकर्ताको हुन्छ ।

तपाईंहरु यसरी अघि बढिरहनुभएको छ,  तर कतिपयले अझै पनि महाधिवेशन हुने मै आशंका व्यक्त गरिरहेका छन् नि ?

यो शंका गर्नेहरुको पनि शंकाको घेरा तोड्नुपर्छ । नेपाली कांग्रेसको विधानले हरेक चार वर्षमा महाधिवेशन हुन्छ भनेको छ ।

१३ औँ महाधिवेशन भएको चारवर्षमा १४ औँ महाधिवेशन हुनुपर्ने हो । तर, १३ औँ महाधिवेशनबाट लिडरसिपमा आएकाहरुले पार्टीको विधानले निर्देशित गरेका कार्यहरु नगरेको  देखियो । त्यो हामीले भनिरहनुपर्छ छ र ?

नेतृत्वले पार्टीको विधानअनुसार काम गरिदिएको भए समयमै महाधिवेशन हुन्थ्यो नि । १३ औँ महाधिवेशनबाट आएको नेतृत्वले पार्टीलाई सम्हाल्न सकेको छैन भन्ने कुरा त यो हरेक चारवर्षमा हुनुपर्ने महाधिवेशन नभएको र असामान्य परिस्थितिमा एक वर्ष थप्न सकिने प्रावधान छ, त्यसमा टेकेर थपिएको एक वर्षमा पनि हुन सकेन ।

किन हुन सकेन भन्दा पार्टीको विधानले तोकेका कार्यहरु नेतृत्वबाट समयमा हुन नसकेकै कारण हो । पार्टी एउटा सामान्य अवस्थामा जानै सकेन ।

उहाँको (सभापति देउवाको) कार्यशैली कस्तो छ भने १३ औैँ महाधिवेशन भएको २ महिनाभित्र विभागहरु गठन हुनुपर्छ भनेर हाम्रो पार्टीको विधानले स्पष्टसँग भनेको छ ।

तर उहाँले त केही पनि गर्नुभएन । तर, आफ्नो कार्यकाल चार वर्ष सकिइसकेपछि एक वर्ष थपेर महाधिवेशनको तिथि मिति तोकिइसकेपछि उहाँले एकतर्फीरुपमा एकपछि अर्को गर्दै विभागहरु गठन गर्दै जानुभयो ।

तर, महाधिवेशन हुने विषयमा संका गर्नुपर्ने ठाउँ किन छैन भने पार्टीको विधानले विधानले परिकल्पना गरेको चारवर्ष र असामान्य परिस्थिति भयो भने थप एकवर्ष पाँच वर्षमा त हुन्छ हुन्छ भन्ने अवस्था हो ।

तर, त्यो पनि नभए पनि ६ महिनाको ग्रेस पिरियड हामीले कहाँबाट पायौँ त भन्दा संविधानले राजनीतिक पार्टीले प्रत्येक पाँचवर्ष भित्रमा गर्नुपर्ने महाधिवेशन गर्न नसकेमा थप छ महिना भित्र गरिसक्नु पर्ने छ भन्ने व्यवस्थाबाट हो ।

तपाईं कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति हुनुभयो, नेपाली कांग्रेसको नेतृत्वमा पुग्नुभयो र कार्यकर्ताले बनाए भने तपाईँले कस्तो नेपाली कांग्रेसको परिकल्पना गर्नुभएको छ ? 

एकदम सामान्य छ । हेर्नुस् है मेरो पनि नेविसंघको कार्यकर्ता हुँदै सुरु भएको राजनीति निरन्तर कांग्रेसका विभिन्न तह हुँदै यहाँसम्म आइपुगेको छ । म दशौँ महाधिवेशनमा केन्द्रीय समिति सदस्यमा चुनावी प्रतिष्पर्धामा उत्रिँदा मलाई तेस्रो धेरै मत दिएका थिए ।

पार्टीको जिल्ला राजनीतिबाट एकैपल्ट केन्द्रीय राजनीतिमा गएको हो ।

त्यसबेला मैले पार्टीलाई विधि र नीति अनुसार चलाउनु पर्छ भनेर चलाएको अभियान थिएँ, त्यो कुरा ठिक छ भनेर देशभरका प्रतिनिधिहरुले भनिदिए ।

अब म नेतृत्वमा गइसकेपछि गर्ने कुरा भनेको चाहिँ नेपाली कांग्रेस एउटा स्वस्थ पार्टी, नेपाली कांग्रेस एउटा स्वच्छ पार्टी बनाउने हो ।

जो विधि र नियमअनुसार चल्छ । नेपाली कांग्रेस जसले देशका तमाम राष्ट्रिय मुद्दा, प्रान्तीय मुद्दा र स्थानीय मुद्दालाई सही समयमा पहिचान गरेर त्यसलाई सम्बोधन गर्न सक्ने एउटा सक्षम पार्टीको रुपमा स्थापित गर्न चाहन्छु ।

जनताले भरोसा गर्ने एउटा भरपर्दो पार्टी बनाउनुपर्ने छ ।

धेरैअघि जानै पर्दैन संविधान कांग्रेसले नै बनाएको होइन र ?

तर त्यसपछि त म्याण्डेट त कम्युनिष्टहरुले नै पाए । चार चार जना कम्युनिष्ट नेताहरु प्रधानमन्त्री बने तर, संविधानसभाबाट संविधान जारी हुन त सकेन । आखिरमा कांग्रेसको १२ औँ महाधिवेशनपछिको नेतृत्वले नै संविधान जारी गर्ने वातावरण बनायो ।

म त्यसबेला पार्टीको उपसभापति र उपप्रधानमन्त्री पनि थिएँ । सभापति तथा प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो ।

सात सालको क्रान्तिदेखि १६ सालको जनमतसंग्रह, ०४२ सालको सत्याग्रह, ०४६ सालको जनआन्दोलन हेर्दा के देखिन्छ भने जब राष्ट्र अस्थिरताको संकटमा पर्छ, त्यस्तो बेला निकास दिन कांग्रेसले आफ्नो भूमिका निर्वाह गरेको छ । जुन विगतको गर्विलो इतिहास छ, त्यसलाई निरन्तरता दिनुछ ।

१६५ सिटमध्ये हामीले अहिले जम्मा २३ सिट जित्यौँ यो नेतृत्वले जिम्मा लिनुपर्ने कुरा होइन ? कांग्रेस नेतृत्व कस्तो छ भन्ने कुरा यहाँबाटै देखिँदैन र ? जनताले मन पराएको नेतृत्व छ कि छैन भनेर निर्वाचनमा मूल्यांकन गर्ने हो ।

अब फेरि तीन नेताकै प्रसंगमा जाऔँ, तपाईंहरु व्यक्तिगत स्वार्थ छोडेर एउटा तीनमध्ये एउटालाई नेता मान्न र देशको स्वार्थमा रमाउन सक्नु होला त ? 

तपाईँ जुन त्यागको कुरा गर्दै हुनुहुन्छ । त्यो त एउटा तहमा पुगेपछि निर्माण हुने कुरा हो । समयको माग बमोजिम कसको लिडरसिपमा देशका र पार्टीको आवश्यकता सम्बोधन गर्दै भोलिको भविश्य उज्ववल हुन्छ भन्ने विषय त पक्कै होलान् नि ।

छुट्टा छुट्टै लड्यौँ भने हामी नेतृत्वमा पुग्न सक्दैनौँ तर पार्टीको आन्तरिक चुनावमा पछि पर्नासाथ राजनीति सकिने पनि होइन । साभार बाह्रखरी

२६ असार २०७८ मा प्रकाशित
Nabintech