नरैनापुरको सन्तानेश्वरमा भक्तजनको भीड

पिपलबाेट संवाददाता


नरैनापुरको सन्तानेश्वर मन्दिरमा भक्तजनको भीड लागेको छ। भर्खर–भर्खर चर्चामा आएको सन्तानेश्वरमा शनिबार ठूलो संख्यामा भक्तजन पुगेका हुन्।

नेपालगञ्ज, कोहलपुर, विनौनालगायत ठाउँबाट मन्दिरमा पुगेका भक्तजनलाई गाउँपालिकाका प्रमुख मो इस्तियाक अहमद शाह र प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले स्वागत गरेका थिए।

पर्यटनको राम्रो सम्भावना बोकेको सन्तानेश्वर मन्दिरमा जाने बाटो बनिसकेको छैन। अप्ठेरो बाटो भए पनि भक्तजन मन्दिरमा पुगेका छन्।
नरैनापुर–५ र ६ को बीचमा पर्ने बेदिहवा, झण्डवा हुँदै सन्तानेश्वर नामकरण भएको मन्दिरको अहिले जिल्लामा चर्चा छ।

सन्तानेश्वर मन्दिर नेपालगञ्जदेखि ३० किमिजति टाढा पर्छ। २२ किमि टाढा पर्ने नरैनापुरको कोहलाबाट उत्तरतर्फ आठ किमि हिँडेपछि सन्तानेश्वर मन्दिर पुगिन्छ।

शनिबार नेपालगञ्जलगायत आसपासबाट सन्तानेश्वरमा पाँच हजार आसपासमा मानिस पुगेको गाउँपालिकाका अध्यक्ष मो इस्तियाक अहमद शाहले बताए।

मन्दिरका महन्त ८६ वर्षीय योगानन्द गिरी उर्फ पहाडीबाबाले वि.सं. १९३५ मै यो ठाउँमा झन्डा गाडिएको बताए। मटेहियाका यादव थरका व्यक्तिले त्यहाँ झण्डा गाडेका थिए।

अहिले पनि उनका सन्तानले वर्षमा एकपटक गुरुपूर्णिमाको दिन भण्डारा (निःशुल्क खाना) गर्छन्। ०७० साल यहाँ मन्दिर बनाइएको छ।
सन्तानेश्वरमा शिवरात्रि, तिजमा विशेष भीड हुने गर्छ। साउन र शिवरात्रिमा रुद्रीपाठ हुने गर्छ।

०२९ सालदेखि लालपुरमा बसोबास गर्दै आएभएका दीर्घबहादुर खड्काले अहिले चर्चामा आए पनि यो ठाउँमा भक्तजन आइरहने बताए। ‘यहाँ आएर चोखो मनले सन्तान मागेपछि सन्तान मिल्छ, खड्काले भने, ‘धेरै जनाले फल पनि पाउनुभएको छ।’

मन्दिरमा पुगेका गाउँपालिका अध्यक्ष मो शाह र प्रमुख प्रशासकीय अधिकृत बस्नेतसमक्ष महन्त पहाडीबाबाले तत्काल बिजुली र पानीको व्यवस्था गरिदिन आग्रह गरे। अध्यक्ष मो शाहले सोलार बत्ती र पानीको व्यवस्था तत्काल गरिदिने आश्वासन दिए। उनले मन्दिरसम्म पुग्न बाटो बनाउने योजना सुनाए। प्रमुख प्रशासकीय अधिकृत बस्नेतले पर्यटकीय स्थलका रूपमा विकास गर्न तत्कालीन र दीर्घकालीन योजना बनिसकेको बताए।

शनिबार नेपालगञ्ज, कोहलपुर, राप्तीसोनारीबाट ५ हजार मानिस पानीमा रुझ्दै दूधे बच्चा बोकेर मन्दिरको दर्शन गर्न पुगेका थिए।
गाउँपालिकाले सानो सवारी साधनको पहुँच बनाइदिने हो भने सन्तानेश्वरमा आन्तरिक पर्यटकको भीड नै लाग्ने देखिएको छ।

एक्कासि चर्चामा आएर मानिसको ओइरो लाग्न थालेपछि गाउँपालिका पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न कस्सिएको छ।

४ श्रावण २०७८ मा प्रकाशित
Nabintech