नेपालगन्ज नाकाबाट एक बर्षमा एक अर्व ५२ करोडको गेडागुडी आयात

पिपलबाेट संवाददाता


नेपालगन्ज नाकाबाट एक बर्षमा एक अर्व ५२ करोड ३७ लाख रुपैँयाको गेडागुडी आयात भएको छ । एक बर्षमा भएको आयातले पश्चिम नेपाल गेडागुडीमा भारत माथि निर्भर छ भन्ने प्रमाणित भएको छ । आव ०७६–०७७ मा जम्मा एक अर्व १० करोड ८८ लाख रुपैँयाका गेडागुडी आयात भएको थियो ।
नेपालगन्ज नाकाबाट हरेक बर्ष चामल तथा चामलजन्य बस्तु आयातमा पनि बृद्धि हुँदै गएको छ । नेपालगन्ज नाकाबाट एक बर्षमा ८९ करोड रुपैँयाको चामल आयात भएको छ । आर्थिक बर्ष ०७६–०७७ भन्दा यो झण्डै २९ करोड रुपैँया बढि भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिए ।
आव ०७७–०७८ मा ८८ करोड ९८ लाख ४२ हजार ९६ रुपैँयाको चामल र चामलजन्य बस्तु आयात भएको बताउँदै उनले आव ०७६–०७७ मा ६० करोड १० लाख १५ हजार १४४ रुपैँया बराबरको चामल आयात भएको बताए । त्यसैगरि, आव ०७५–०७६ मा ४९ करोड ७१ लाख १५ हजार ८१३ रुपैँयाको चामल आयत भएको जानकारी दिए । ‘नेपालगन्ज नाकाबाट हरेक बर्ष चामल आयात बढ्दै गएको तथ्यांकले देखाएको छ,’ उनले भने ।
नेपालगन्ज नाकाबाट पेट्रोलियम पदार्थ आयातमा पनि बृद्धि भएको छ । नेपालगन्ज नाकाबाट गत आर्थिक बर्ष दुई अर्व ४६ करोड ७० लाखको पेट्रोल आयात भएको प्रमुख भन्सार अधिकृत भण्डारीले बताए । आव ०७६–७७ मा एक अर्व ९५ करोड ३९ लाखको पेट्रोल आयात भएको थियो । ‘पेट्रोल र खाद्यन्न आयातमा बृद्धि हुनुले नेपालीहरुको भारतमा परनिर्भरता बढ्दै गएको छ भन्ने स्पष्ट भएको छ,’ भण्डारीले भने ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार, गत आवमा चार अर्व ८८ करोड ३९ लाख ८८ हजार मूल्य बराबरको चिनी तथा चिनीजन्य बस्तु आयात भएको छ । यो पनि आव ०७६–०७७ को तुलनामा धेरै हो । उक्त आवमा एक अर्व ४४ करोड ६२ लाख रुपैँयाको चिनी तथा चिनी जन्यबस्तु आयात भएको थियो ।
उनले सिमेन्टको क्लिङ्कर आयातमा भने गिरावट आएको छ । गत आवमा ३९ करोड १२ लाख रुपैँयाको क्लिङ्कर आयात हुँदा आव ०७६–०७७ मा ४१ करोड ९३ लाख रुपैँयाको सिमेन्ट क्लिङकर आयात भएको थियो । ‘लकडाउनका कारण सिमेन्ट कारखाना बन्द भएका कारण यस बर्ष भारतबाट क्लिङ्कर आयातमा कमी भएको हुनसक्छ,’ उनले भने ।

१२ श्रावण २०७८ मा प्रकाशित
Nabintech