नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको नेपालगञ्ज बजारका हरेक चोक–चोकमा प्रहरी बिट छ तर, प्रहरी बस्दैनन् । सुरक्षाको दृष्टिकोणले अत्यन्तै संम्बेदनशील मानिएको उक्त क्षेत्रमा प्रहरीको सक्रियता बढाउन चोक–चोकमा प्रहरी बिट राखिएको हो ।
तर, अधिकांश प्रहरी बिटमा ताल्चा लागेको हुन्छ । चोक–चोकमा राखिएको प्रहरी बिटमा अहिले प्रहरी बस्दैनन् । ‘लामो समयदेखि प्रहरी बिट खाली छ’, स्थानीय एक जनाले भने । ‘नेपालगन्ज बजार क्षेत्र सुरक्षाको दृष्टिकोणले चौबिसै घण्टा चोक–चोकमा प्रहरी राखिनु पर्ने हो तर, यहाँ राखिएको प्रहरी बिटमा समेत प्रहरी हुदैनन्’, स्थानिय प्रेम बहादुर ओलीले भने ।
‘नेपालगञ्जको त्रिवेणी मोडमा करिब १६÷१७ बर्ष भयो व्यापार गरेको, अहिलेसम्म प्रहरी बिटमा प्रहरी बसेको देखे छैन’, उनले भने । राति होस वा दिनमा सुरक्षाको निम्ति राखिएको प्रहरी बिटमा २४ सै घण्टा प्रहरीको उपस्थिति नरहेको भन्दै स्थापना गरिएको प्रहरी बिटमा प्रहरी नै नभएपछि प्रहरी बिटको के काम ? भन्दै ओलीले प्रश्न गरे ।
‘प्रहरी बिट बनाएको ५–६ महिना प्रहरी बसे, र हामीलाई पनि सुरक्षाको दृष्टिकोणले राम्रो भएको महशुस भएको थियो तर, केही समयपछि बिट मै प्रहरी बस्न छाडे’, स्थानीय ओलीले भने । ‘प्रहरी बिट सजावटको लागि राखिएको हो कि प्रहरी बस्न राखिएको हो’, उनले जिज्ञासा राख्दै भने ।
समय समयमा कुनै न कुनै घटना भइरहने नेपालगन्जका चोक–चोकमा शान्ति सुरक्षा मजबुत बनाइराख्न बिगतदेखि नै प्रहरी बिट स्थापना गरी सुरक्षा दिने तवरले राखिएको अधिकांश प्रहरी बिटमा प्रहरी बस्न छाडेका छन् ।
प्रहरीको सक्रियता खासै नहुँदा दैनिक जसो विभिन्न खाले घटनाहरु हुदै आएको स्थानीय व्यवसायी विमला देबी बुढाले बताइन् । ‘नेपालगन्जको त्रिवेणी मोड, भानुभक्त चोक, भेरी अस्पताल चोक, शान्ति नगर चोक, घरवारीटोल लगायतका स्थानमा रहेको प्रहरी बिटमा प्रहरी बस्दैनन्’, बुढाले भनिन् ।
‘प्रहरी बिटमा चौबिसै घण्टा ताला लागेको हुन्छ’, स्थानीय बुढाले भनिन् । सुरुका दिनहरुमा प्रहरीको उपस्थिति भएपनि आज भोलि भने बिटमा एक दिन पनि प्रहरी नदेखिएको उनले बताइन । यसअघि बिट नहुँदा प्रहरीलाई निगरानी गर्न समस्या भएपनि बिट बनिसक्दा पनि प्रहरी नखटाउनु प्रहरी प्रशासनको गम्भीर लापरबाही रहेको उनले बताइन् ।
पछिल्लो समय नेपालगन्ज उपमहानगरको शान्तिनगर, बसपार्क, सदरलाइन आसपास चोरी डकैती, लुटपाट, महिलामाथि दुब्र्यहार, लागू औषधको कोरोबार बढिरहेको स्थानीय प्रेम राज अधिकारीले बताए । लामो समयदेखि प्रहरी बस्न छोडेपछि बिट करिब जिर्ण जस्तै बन्न लागेको छ । प्रहरी बिटमा फोहोरहरु राख्न थालिएको स्थानीयले बताएका छन् ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता तथा डीएसपी मधुसुदन न्यौपानेले भने नेपालगञ्जको चोक–चोकमा रहेको प्रहरी बिटमा प्रहरी बस्ने गरेको बताए । उनले भने, ‘कुनै–कुनै ठाउँका प्रहरी बिटमा व्यवस्थापन गर्न जरुरी छ । त्यसको लागि पनि सम्मन्वय भइरहेको छ ।’
‘उक्त बिटमा अब जनचेतना मुलक डिजिटल बोर्ड समेत राख्ने तयारी भरहेको छ’, उनले भने, ‘शहरको सुन्दरता नविग्रिने गरि बिटमा डिजिटल बोर्ड र जनचेतना मुलक सन्देश समेत राखिनेछ ।’