अख्तियार बाँकेमा उजुरीको चाङ, पहिलो स्थानमा कोहलपुर नगरपालिका

पिपलबाेट संवाददाता


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा प्रत्येक वर्ष उजुरीको संख्या बढ्दै गएको छ । अख्तियारमा उजुरीको संख्या बढ्दै गएपछि उजुरी फच्छ्र्यौटका लागि अख्तियारको व्यस्तता समेत बढेकोछ । बाँके, बर्दिया र दाङ जिल्लालाई कार्यक्षेत्र बनाएर काम गरिरहेको नेपालगञ्ज सम्र्पक कार्यालयले यही वैशाख महिनादेखि रोल्पालाई समेत आफ्नो कार्यक्षेत्रमा समेटेको छ । ४ जिल्लाका ३६ पालिकामा काम गरिरहेको अख्तियारको नेपालगञ्ज स्थित सम्पर्क कार्यालयमा सबैभन्दा बढि बाँकेको उजुरी रहेको जनाएको छ । भने दोस्रो स्थानमा दाङ र तेस्रोमा बर्दिया जिल्लाको उजुरी रहेको अख्तियारको तथ्यांकले स्पष्ट पारेकोछ । अख्तिायरमा बाँकेको कुल ३४४ उजुरी दर्ता भएका छन् । जसमा २२४ वटा उजुरीमाथि छानविन सम्पन्न हुदाँ १२० वटा उजुरी छानविन हुन बाँकी रहेकोछ । यस्तै दाङमा कुल २४५ उजुरी दर्ता भएकाछन् भने १५१ वटा उजुरीमाथि छानविन सम्पन्न हुदाँ ९४ वटा उजुरी छानविन हुन बाँकी रहेकोछ । बर्दियामा कुल १८० उजुरी दर्ता भएकाछन् भने १२४ वटा उजुरीमाथि छानविन सम्पन्न हुदाँ ५६ वटा उजुरीमाथि छानविन हुन बाँकी रहेकोछ । यसैगरी रोल्पाका ७ वटा उजुरी दर्ता हुदाँ ४ वटा उजुरीमाथि छानविन सम्पन्न भएको छ भने ३ वटा उजुरी बाँकी रहेकोछ । गत बैशाखदेखि मात्र नेपालगन्ज कार्यालयको कार्य क्षेत्रमा रोल्पा जिल्ला परेको हो । अख्तियारको नेपालगन्ज स्थित सम्पर्क कार्यालयका अनुसार यसरी उजुरी दर्ता हुनेमा यी ४ जिल्लामध्ये बाँके अग्र स्थानमा रहेकोछ ।  जसमा बाँकेका ८ स्थानीय तहमध्ये कोहलपुर नगरपालिकाको सबैभन्दा बढी उजुरी अख्तियारमा दर्ता भएकाछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा कोहलपुरका १६ उजुरी फर्छयौट हुन बाँकी छ । दोस्रोमा राप्तीसोनारी गाउँपालिका छ, जसका ११ उजुरी छन् । त्यस्तै तेस्रोमा १० वटा उजुरीसहित नेपालगञ्ज उपमहानगरपालिका छ । खजुरा र जानकी गाउँपालिकाका ७/७ वटा, डुडुवाको ५, बैजनाथको ३ र नरैनापुरको २ वटा उजुरी फच्छ्र्याैट हुन बाँकी रहेको अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगति सम्बन्धि विवरण सार्वजनिक तथा सञ्चारकर्मी भेटघाट कार्यक्रममा कार्यालय प्रमुख कृष्ण कुमार निरौलाले ४ वटा जिल्ला कार्य क्षेत्र रहेको नेपालगञ्ज कार्यालयमा सबैभन्दा बढी उजुरी बाँकेका रहेको बताए । अख्तिायरको नेपालगञ्ज स्थित सम्पर्क कार्यालयले गत वर्ष ३ वटा स्टिङ अपरेशन गरेको छ । गएको वर्ष स्थानीय तहका सबैभन्दा बढी २५२ उजुरी परेका थिए । ती मध्ये १५४ फच्छ्र्यौट भएको निरौलाले जानकारी दिए । त्यस्तै स्थानीय तह अन्तर्गत् शिक्षाका १२१ उजुरी परेकोमा ८२ वटा फच्छ्र्यौट भएको छ । आर्थिक वर्ष २०७७/७८ मा ४ वटा जिल्लाबाट ७७६ उजुरी परका थिए । ती मध्ये ५०३ फच्छ्र्यौट भएका छन् । सम्पर्क कार्यालय नेपालगन्जका अनुसार विकास योजनामा बास्तविक सम्पन्न कार्य भन्दा बढी रकम भुक्तानी गरेको र न्यून गुणस्तरीयरुपमा सम्पन्न गरेको सम्बन्धमा सबैभन्दा बढि उजुरी दर्ता हुने गरेकोछ । यस्तै सार्वजनिक खरिद ऐनको पालना नगरी खरिद कारवाही गरिएको, झुठा बिल भरपाई, बास्तविक भन्दा बढी खर्च देखाई अनियमितता गरेको, कर्मचारी भर्ना गर्दा योग्यता प्रणालीको बर्खिलाप हुने गरी भर्ना गरेको, स्विकृत दरबन्दी विपरित भर्ना गरेको, सार्वजनिक जग्गाको अनाधिकृत कब्जा, अतिक्रमण र दर्ता सम्बन्धि, पदीय दायित्व पालना नगरेको, अनुचित कार्य सम्बन्धि, अकुत सम्पत्ति आर्जन, झुठा शैक्षिक प्रमाणपत्र लगायतका विषयमा बढी उजुरी पर्ने गरेकाछन् । कार्यालय प्रमुख निरौलाले भ्रष्टाचार नियन्त्रण र सुशासन कायमका लागि अख्तियारले प्रबद्र्धनात्मक, निरोधात्मक र दण्डात्मक कार्यहरु गरिरहेको बताए । उनले आयोगमा गोलमटोल उजुरी बढी आउने गरेको जानकारी दिँदै कार्यबोझ बढी हुँदा भनेजस्तै काम हुन नसकेको बताए ।अख्तियारमा ४० जना कर्मचारीको दरबन्दी रहेको भन्दै प्रमुख निरौलाले नेपालगञ्ज कार्यालयमा अहिले ३२ कर्मचारीले सेवा प्रवाह गरिरहेको बताए । उनले अख्तियारमा प्रयोगशाला सञ्चालन गरिएपनि प्राविधिकहरुकै दरबन्दी खाली रहेकाले काममा अप्ठेरो परेको बताए । निरौलाले प्रत्येक वर्ष उजुरीको संख्या बढ्दै जानु र कर्मचारी अभावमा उजुरीमाथि कारबाही अगाडी बढाउन समेत समस्या हुने गरेकाले कार्यबोझ बढ्दै गएको बताए ।

 

२७ श्रावण २०७८ मा प्रकाशित
Nabintech