नेपालगन्ज उप–महानगरपालिका–१२ का ५६ वर्षीय जेतविक्रम शाहले ११ औं दिनमा महाकाली–मेची शान्ति यात्रा सम्पन्न गरेको छन् । उनले गत साउन १५ गते महाकालीबाट आफ्नो शान्ति साइकल यात्रा सुरु गरेका थिए ।
शाहले बिहीबार पूर्वी नाका काँकरभिट्टा पुगेर साइकल यात्री सम्पन्न गरेका छन् । कोभिडबाट ज्यान गुमाउने नागरिहरुप्रति समर्पित रहेर शाहले नेपालको पश्चिमदेखि पूर्वसम्मको एक हजार एक सय ७८ किलोमिटर शान्ति यात्रा सम्पन्न गरेका हुन् ।
शाह तीन महिनाअघि कोरोना संक्रमणमुक्त भएका थिए ।
साइकल यात्रा समापन समयमा शाहलाई काँकरभिट्टाका साइक्लिष्ट, स्थानीयवासी, जनप्रतिनिधि र राजनीतिक दलका अगुवाहरुले भव्य स्वागत गरेका छन् ।
शाहले यात्राका क्रममा पहिलो दिन गत साउन १८ गते दोधारा चाँदनीदेखि टीकापुरसम्मको एक सय ३५ किलोमिटरको यात्रा तय गरे । त्यस्तै साउन १९ गते टीकापुरदेखि नेपालगन्जसम्मको ८० किलोमिटर, साउन २० गते नेपालगन्जदेखि लमही एक सय २७ किलोमिटर, साउन २१ गते लमहीदेखि चन्द्रौटा ६० किलोमिटर, साउन २२ गते चन्द्रौटादेखि बुटवल ९५ किलोमिटर, साउन २३ गते बुटवलदेखि कावासोती ८५ किलोमिटर, साउन २४ गते कावासोतीदेखि हेटौडा एक सय ६ किलोमिटर, साउन २५ गते हेटौडादेखि लालबन्दी (सर्लाही) एक सय चार किलोमिटर यात्रा तय गरेका थिए ।
त्यसैगरी साउन २६ गते लालबन्दीदेखि बर्दिबास एक सय ३० किलोमिटर, साउन २७ गते बर्दिबासदेखि कोशी ब्यारेज एक सय २६ किलोमिटर र कोशी ब्यारेजदेखि विर्तामोड (मेची पुल) एक सय ३० किलोमिटर यात्रा साइकल बाट गरे ।
शाहलाई महाकाली साइकिल यात्रामा एचसिआरसि हस्पिटल, नेपालगन्जले मुख्य प्रायोजन गरेको थियो । साथै खजुरा गाउँपालिका र आशिरवाद पेन्ट सह प्रायोजन गरेको थियो ।
नेपालगन्ज साइकिलिंग क्लबका सदस्यसमेत रहेका शाहले यसअघि गतसाल एकैदिनमा दुई सय ६० किलोमिटर यात्रा गरेका थिए । उनले सो यात्राका क्रममा नेपालगन्जदेखि टीकापुर पुनः टीकापुरदेखि नेपालगन्ज र आशपासका क्षेत्रमा साइकल चलाएका थिए । शाहका अनुसार उक्त रेकर्ड नेपालमै पहिलो रहेको बताउँछन् ।
त्यस्तै नेपालगन्जदेखि दोधार चाँदनीसम्मको दुई सय १५ किलोमिटर साइकल यात्रा पनि शाहले एकैदिनमा नै तय गरेका थिए । उनले एकैदिनमा ‘टूर दे ठाकुरद्वाराको पनि यात्रा साइकलबाटै गरेका थिए ।