कोहलपुरको शान्ती सुरक्षाको विषयमा सर्वपक्ष छलफल सम्पन्न

कोहलपुरको महत्व पुर्ण ठाउमा सिसि क्यामरा जडान गरिने


पिपलबाेट संवाददाता


कोहलपुर ईलाका प्रहरी कार्यालय कोहलपुरको कार्यक्षेत्र भित्रमा हुने विभिन्न खाले अपराधिक गतिविधिको निगरानी तथा अनुसन्धानलाई सहज वनाउनको लागी सिसि क्यामरा जडान सम्वन्धी सर्व पक्ष छलफल आईतबार कोहलपुरमा सम्पन्न भएको छ । कोहलपुर नगरपालिका तथा ईलाका प्रहरी कार्यालय कोहलपुरको जिम्मेवारी क्षेत्रभित्र अपराधको रोकथाम, नियन्त्रण तथा प्रभावकारी अनुसन्धान गरी सार्वजनिक सुरक्षा व्यवस्थालाई थप प्रभावकारी एवम् मजबुद बनाउनका लागि आयोजित सर्वपक्ष छलफल बाट सिसिटिभि स्थान पहिचान समिति र सिसिटिभि जडान तथा व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको छ ।सिसिटिभि जडान तथा व्यवस्थापन समितिको संयोजकमा कोहलपुर उद्योग वाणिज्य संघ, सदस्यहरुमा कोहलपुर नगरपालिका, सुनचाँदी व्यवसायी संघ कोहलपुर, नेपाल पत्रकार महासंघ बाँके, बैंकर्स क्लब कोहलपुर बाँके, यातायात कोहलपुर र ईलाका प्रहरी कार्यालय कोहलपुर रहेका छन् । यस्तै कोहलपुर नगरपालिका भित्र सिसिटिभि जडानको स्थान पहिचानका लागि ईलाका प्रहरी कार्यालय कोहलपुर बाँके, नेपाल पत्रकार महासंघ बाँके, उद्योग वाणिज्य संघ कोहलपुर बाँके, कोहलपुर नगरपालिका र वडा नं. ११ सहितको नेतृत्वमा समिति गठन भएको कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले बताएका छन् । साथै उनले कोहलपुर नगर भित्र हुने अपराधिक गतिविधिहरु नियन्त्रणका लागि विगतदेखि केहि स्थानहरुमा सिसिटिभि जडान कार्य सुरु गरिएको जानकारी दिँदै आवश्यक स्थानको पहिचान गरी नगरका अन्य स्थानहरुमा पनि सिसिटिभि जडान गरिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख श्याम कृष्ण अधिकारीले पछिल्लो समय प्रविधिसँग अपराधिक गतिविधिहरु धेरै जोडिएका कारण रहेक ठाउँमा सिसिटिभि जडान अति आवश्यक रहेको बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले प्रविधिको प्रयोग गर्नका लागि आवश्यक जनशक्तिको व्यवस्था गर्नुपर्ने बताउँदै कोहलपुरको शान्ति सुरक्षा कायम गर्नका लागि कोहलपुर उद्योग वाणिज्य संघले विभिन्न क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । साथै उनले व्यवसायि सुरक्षा र आम जनताको सुरक्षाका लागि ट्राफिक प्रहरी र नेपाल प्रहरीहरुलाई आर्थिक, भौतिक र अन्य विभिन्न प्रकारका सहयोग र सहकार्य गर्न संघ तयार रहेको बताएका छन् । कार्यक्रममा बोल्दै नेपाली काँगे्रसका नेता भानुभक्त भट्टराईले स्थानिय सरकारले आवश्यक बजेटको व्यवस्थापन गरी सिसिटिभि जडान कार्य तत्काल गर्नुपर्ने भन्दै जनताको सुरक्षामा स्थानिय सरकारको महत्वपुर्ण जिम्मेवारी भएको वताए ।भट्टराईले स्थानिय सरकारले नै स्थानिय बासिन्दाहरुको शान्ती सुरक्षाको व्यवस्थापन गर्न आवश्यक रहेको वताए । कोहलपुर नगरपालिका क्षेत्रमा लागुपदार्थ सेवन कर्ता दिन प्रतिदिन बढिरहेका छन् । यस तर्फ स्थानिय सरकारले प्रत्येक वर्ष खर्च गर्ने वजेट कता पुगेको छ किन कम हुन सकेन भट्टराईले प्रश्न उठाए । साथै उनले लागु पदार्थ नियन्त्रण गर्न स्थानिय सरकारले विशेष नीति बनाई काम गर्ने नगर प्रमुख संग माग गरे । कोहलपुर लागु पदार्थको केन्द्रका रुपमा स्थापित हुँदा अवस्था भयावह हुने बताएका छन् । कार्यक्रममा बोल्दै एमाले बाँके अध्यक्ष अशोक कोइरालाले स्थानिय सरकार, प्रहरी प्रशासन, विभिन्न राजनीतिक दल, संघ सस्थाहरुको सामूहिक प्रयासले अपराध नियन्त्रण गर्न सकिने बताएका छन् । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपानेले कोहलपुर क्षेत्रको शान्ति र सुरक्षा प्रहरीले आफ्नो नियन्त्रणमा राखिरहेको बताउँदै चोरी लगायत अन्य विभिन्न घटनाहरुको अनुसन्धान तथा नियन्त्रण गर्नका लागि प्रविधिको आवश्कता रहेको बताएका छन् । साथै उनले उद्योगि व्यवसायीहरुलाई आफ्नो घरसँगै सडकसम्मको दृश्य देखिने गरी सिसिटिभि जडान गर्न अनुरोध समेत गरेका छन् ।कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले राजनीतिक दलहरुले समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि आवश्यक सहयोग गर्न अनुरोध गरेकाछन् । कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, उद्योगि व्यवसायी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

३१ श्रावण २०७८ मा प्रकाशित
Nabintech