कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राप्तीसोनारीले एक लाख दिने

पिपलबाेट संवाददाता


राप्ती सोनारी गाउँपालिकाकाले कोरोनाबाट मृत्यु भएका घरपरिवारलाई क्षतिपूर्तिबापत एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । पालिकाका अध्यक्ष लाहुराम थारुको अध्यक्षमा सोमबार बसेको कार्यापालिका बैठकमा क्षतिपूर्ति दिने निर्णय भएको हो ।
पालिका उपाध्यक्ष धनीकुमारी खत्री, कार्यापालिका सदस्यलगायतको उपस्थिति रहेको बैठकले विभिन्न ११ शिर्षकमा निर्णय गरेको छ । बैठककले बाढीबाट क्षति हुन गएका घरलाईपनि २५ हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । जसका लागि मुचुल्का फोटोसहित वडा समितिको निर्णय सिफारिस हुनु पर्ने पालिकाले जनाएको छ ।
त्यस्तै बैठककले गाउँपालिकाअन्तर्गत ऐलानी जग्गाको अभिलेखिकरण गर्न परिचयपत्र वितरण र अभिलेख सम्बन्धि समितिमा वडा नम्बर ३ का अध्यक्ष गंगाराम थारुको संयोजकत्वमा पाँच समिति घठन गर्ने निर्णय गरेको हो ।
त्यस्तैगरी राप्ती सोनारी अस्पताल र बैजापुरमा आवश्यक पर्ने जनशक्ति दरबन्दी खोली पदपुर्ति गर्ने, सर्पदंश उपचार केन्द्र शम्शेरगंजमा गाउँपालिका तर्फबाट दुईजना स्वास्थ्यकर्मी खटाइने, टेण्डर आह्वान गरी छोरीहरुलाई स्वास्थ्यको पहुँचमा पु¥याउन साइकल वितरण, झिझिरी र परुवा बाहेकका अन्य खोलाको नदिजन्य पदार्थ बिक्रीवितरणका लागि टेण्डर आह्वान गर्ने निर्णय गरिएको पालिकाले जनाएको छ ।
साथै पालिकाका लागि एकजना कार्यालय सहयोगी र दुईजना करार कर्मचारी माग गर्ने, गरिबी निवारण कोष र सामाजिक विकास कोषको रकम एकिन गरी प्रत्येक वडामा एक सहकारी संस्था दर्ता गरी संचालनमा ल्याउनेलगायतका विषयमा निर्णय गरिएको छ ।
पालिका अध्यक्ष थारुले बैठकले निर्णय गरेका सबै शिर्षकलाई पालिकाले कुनैपनि हालतमा कार्यान्वयन गर्ने बताए । उनले पालिकाले सधैं जनतका हीतमा नै निर्णय गर्ने जनाए ।

facebook sharing button Share

७ भाद्र २०७८ मा प्रकाशित
Nabintech