भेरी अस्पतालमै पित्तथैली क्यान्सरको शल्यक्रिया

पिपलबाेट संवाददाता


कोभिड महामारीका कारण क्रमशः सुविधा सम्पन्न बन्दै गएको पश्चिम नेपालकै सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अस्पतालमा एकपछि अर्को गरेर विभिन्न सफल उपचार भइरहेका छन् ।

कोभिड महामारीमा देशकै उत्कृष्ट अस्पताल मानिएको नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक पित्तथैली क्यान्सरको सफल शल्यक्रिया गरिएको सो अस्पतालले जनाएको छ । अस्पतालमा पहिलो पटक राजापुर नगरपालिका–४ बर्दियाकी ४५ वर्षीया अनकली थारूको सफलतापूर्वक पित्तथैली क्यान्सरको सफल शल्यक्रिया गरिएको अस्पताल प्रमुख डा.प्रकाश थापाले बताए ।

उनले अस्पतालका ग्यास्ट्रोसर्जन डा.ध्रुव शाह नेतृत्वको टिमले सफलतापूर्वक सो शल्यक्रिया गरेको जनाए । उनका अनुसार पित्तथैलीमा पत्थरीको शल्यक्रियालाई जटिल मानिँदैन तर क्यान्सर भइसकेपछि भने अत्यन्तै जटिल मानिन्छ । पित्तथैली क्यान्सरको शल्यक्रिया निकै जटिल मानिने जनाउँदै शल्यक्रिया गर्ने टिमका लिडर डा.शाहले यो त झन् कलेजो र ग्रन्थी नै बाहिर निकालेर शल्यक्रिया गर्नुपरेकाले निकै जटिल शल्यक्रिया गर्न सफल भएको बताए ।

‘यो भेरी अस्पतालका लागि पहिलो र एकदमै जटिलखाले शल्यक्रिया थियो,’ डा.शाहले भने, ‘क्यान्सर भइसकेपछि अत्यन्तै जटिल हुन्छ । धेरैजसोको त शल्यक्रिया गर्नै मिल्दैन तर यो केसमा हाम्रो टिमले सफलतापूर्वक शल्यक्रिया ग¥यो र बिरामीको ज्यान जोगियो ।’ उनका अनुसार शल्यक्रिया सफल भएपछि बिरामी थारू डिस्चार्ज भएर घर गएका छन् ।

८ भाद्र २०७८ मा प्रकाशित
Nabintech