कांग्रेस उपसभापति निधि र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

पिपलबाेट संवाददाता


भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग भेटवार्ता गरेका छन्। आइतबारदेखि नेपाल भ्रमणमा रहेका चौथाइवालेले बुधबार कांग्रेस उपसभापति निधिसँग भेटवार्ता गरेका हुन्।

दुवै नेताबीच करिब एक घण्टा भएको भेटवार्तामा नेपाल–भारतसम्बन्धका विषयमा कुराकानी भएको थियो।

भेटमा नेपाल–भारत सम्बन्ध अघि बढाउन नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्ध अगाडि बढाउनुपर्नेमा निधिले चौथाइवालेको ध्यानाकर्षण गराएका छन्।

भारत सरकारले नेपाल सरकारलाई कोरोना भ्याक्सिन उपलब्ध गराउन गरेको सहमतिअनुसार अझै भ्याक्सिन नआएको भन्दै तत्काल उपलब्ध गराउन चौथाइवालेमार्फत निधिले भारत सरकारको ध्यानाकर्षण गराएका छन्।

यसैगरी, संविधानसभामार्फत जारी संघीय लोकतान्त्रिक गणतान्त्रत्मक नेपालको संविधानलाई भारतले नोटेडमात्र भनेको उल्लेख गर्दै उनले भारत सरकार र सत्तारुढ भाजपाका तर्फबाट अब आउने संविधान दिवसको अवसरमा संविधानको पक्षमा स्वागत गर्नुपर्नेमा जोड दिएका थिए।

उपसभापति निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमणका क्रममा सय करोड विकास अनुदान घोषणा गरेकोमा अहिलेसम्म कार्यान्वयनमा नभएकोमा चौथाइवालेको ध्यानाकर्षण गराएका थिए।

यसैगरी उनले जनकपुर–कुर्था रेल्वे सेवा सञ्चालन गराउन दुवै देशका सरकार मिलेर आवश्यक प्रक्रिया अगाडि बढाउँदै दुवै देशका प्रधानमन्त्रीबाट संयुक्त रूपमा उदघाटन गर्नुपर्ने जोड दिए।

निधिले उठाएका विषयलाई सकारात्मक रूपमा लिँदै भारत सरकारको तर्फबाट पहल थाल्न आफूले सक्दो पहल गर्ने बताएका थिए।

९ भाद्र २०७८ मा प्रकाशित
Nabintech