बाँकेमा अब ९ स्थानीय तह, खजुरा नगरपालिकामा स्तरोन्नती

पिपलबाेट संवाददाता


आगामी स्थानीय तहको निर्वाचनमा बाँके जिल्लाको राजनीतिक विभाजन हेरफेर हुने छ । जिल्लामा अब ९ वटा स्थानीय तह हुने छन् भने एक उप-महानगरपालिकासहित दुईवटा नगरपालिका हुने छन् । नेपाल सरकारले २०७४ सालमै राप्तीसोनारी गाउँपालिकालाई दुईवटा टुक्रामा विभाजन गरेको थियो भने खजुरा गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गरेको थियो । तर त्यसबखत निर्वाचन कार्यक्रम अघि बढिसकेकोले कार्यान्वयन भएको थिएन । राप्तीसोनारीलाई विभाजन गरेर राप्ती र सोनारी गरी दुई गाउँपालिका बनाइएको छ । अब बाँकेमा १ उपमहानगरपालिका, २ नगरपालिका र ६ वटा गाउँपालिका भएका छन् । यो निणर्य भने आगामी निर्वाचनबाट लागू हुने स्थानीय शासन विज्ञ मीनबहादुर मल्लले जानकारी दिए ।
नेपाल सरकारको राजपत्रमा संघीय मामिला तथा स्थानीय मामिला मन्त्रालयले गठन गरेको समितिले पेश गरेको प्रतिवेदनका आधारमा २०७४ जेठ २८ गते नेपालका विभिन्न जिल्लामा रहेका स्थानीय तहको नाम, संख्या, सीमाना तथा संख्या हेरफेर र स्तरोन्नती गरिएको उल्लेख छ । आगाी निर्वाचनमा चुनिएर आउने गाउँ सभा तथा नगरसभाले निणर्य गरेबमोजिम हुनेबाहेक हाललाई स्थानीय तह र वडाको सीमाना निर्धारण गरी थप, हेरफेर तथा स्तरोन्नती भएका इकाइहरुको केन्द्र निर्धाण गरिएको राजपत्रमा उल्लेख छ । तर यसबारेमा जिल्लामा हाल आमरुपमा परिचर्चा भइरहेको छैन ।
जसअनुसार खजुरा गाउँपालिका अब नगरपालिका बनेको छ । साविकको बागेश्वरी, सीतापुर, राधापुर,उढरापुर,सोनपुर, रनियापुर गाविसहरु रहेका छन् । गाउँपालिकामा पनि यीनै गाविसहरु समावेश थिए । नगरपालिकाको क्षेत्रफल १०१.९१ वर्ग किलिोमटर छ भने जनसंख्या ५० हजार ९ सय ६१ रहेको छ । जिल्लाको एक व्यापारिक तथा औद्योगिक क्षेत्रका रुपमा परिचित खजुरा २०७३ साल फाल्गुन २७ गतेको निणर्य अनुसार खजुरा गाउँपालिकाको रुपमा स्थापित भएको थियो । २०७४ सालमा नगरपालिका घोषणा गरिएपनि कार्यान्वयन हुन सकेन । अब आगामी चुनावमा भने २०७४ जेठ २८ को निणर्यअनुसार चुनाव हुनेछ ।
यसैगरी क्षेत्रफलका हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका राप्तीसोनारी अब दुई स्थानीय हतमा विभाजन भएको छ । राप्तीसोनारी टुक्रिएर राप्ती र सोनारी गरी दुई गाउँपालिका बन्नेछन् र त्यहीअनुसार निर्वाचन हुनेछ ।
कुल क्षेत्रफल १०४१.७३ वर्ग किलोमिटर राप्ती सोनारीको अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ । साविकका ६ वटा गाविसहरु खासकुश्मा, कचनापुर, महादेवपुरी बैजापुर, बिनौना, फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिकामा ९ वडा थिए । अब साविकका गाविसमध्ये खासकुश्मा, कचनापुर, महादेवपुरी राप्ती गाउँपालिकामा र बैजापुर, बिनौना, फत्तेपुर सोनारी गाउँपालिकामा रहनेछन् । राप्ती गाउँपालिकाको क्षेत्रफल ७ सय ९० दशमलव ३१ वर्गकिलोमिटर र सोनारी गाउँपालिकाको क्षेत्रफल दुई सय ५१ वर्गकिलोमिटर हुनेछ ।
खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले राजपत्रमा प्रकाशित निणर्य कार्यान्वय हुने बताए । ‘राजपत्रमा आइसकेको कुरा कार्यान्वयन गर्नुपर्छ । हामी त्यसैअनुसार अघि बढ्छौँ,’ उनले भने ।
स्थानीय शासन विज्ञ मीनबहादुर मल्लले राजपत्रमा प्रकाशित निणर्य त्यतिखेर कार्यान्वयन नभएकोमा अबको निर्वाचनबाट कार्यान्वयन हुने बताए ।

राजपत्र

राजपत्र

१७ भाद्र २०७८ मा प्रकाशित
Nabintech