बाँकेमा पनि अब विद्यालय सुचारु गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार एक सूचना जारी गर्दै स्मार्ट लकडाउनको नियम पालना गर्दै विद्यालय खोल्न पाइने जनाएको हो । तर त्यसका लागि स्थानीय तहले जिल्ला कोभिड-१९ व्यवस्थापन समितिसँग समन्वय गर्नुपर्नेछ ।
सरकारले जारी गरेको स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ मा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै परीक्षा सन्चालन तथा सम्बन्धित कक्षाको कूल क्षमताको ३३ प्रतिशत नबढ्ने गरी आलोपालो समेतको उपयुक्त वैकल्पिक विधि अपनाई भौतिक उपस्थितिमा कक्षा सन्चालन गर्न स्थानीय तहको सिफरिसमा जिल्ला कोभिड-१९ व्यवस्थापन समितिले स्वीकृति दिन सकिने उल्लेख छ ।
सोही व्यवस्थाअनुसार विद्यालय खोल्न सकिने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्धारा जारी सूचनामा उल्लेख छ । जिल्लामा अधिकांश भिडभाड हुने क्षेत्र खुला गरिसक्दा पनि विद्यालय भने बन्द नै राखिएको भन्दै असन्तुष्टी व्यक्त हुँदै आएको थियो ।
स्मार्ट लकडाउनमा कार्यविधिमा क्षेत्रहरुलाई जोखिमको आधारमा रेड, मिक्स्ड, एलो र ग्रिन जोनमा विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । जोनको निर्धारण कार्यविधिमा उल्लेखित सुत्रका आधारमा नम्बर दिएर गर्नुपर्नेछ ।
जसअनुसार बाँकेका आठ वटा स्थानीय तहमध्ये कोहलपुर नगरपालिका मिक्स्ड जोन, नेपालगञ्ज उपमहानगरपालि एलो र अरु ६ वटा पालिका ग्रिन जोनमा परेका छन् ।
अब कोहलपुर नगरपालिकाका विद्यालयले प्रशासनिक कार्यमात्र गर्न पाउनेछन् र नेपालगञ्ज उप-महानगरपालिकाले स्कुल खोल्ने सम्बन्धमा निणर्य गरेर डीसीसीएमसी बैठकमा पेस गनुपर्र्नेछ । अरु स्थानीय तहले स्कूल खोल्न सक्ने छन् ।
अब लकडाउन गर्दा स्थानीय तहले जोखिम मूल्यांकन गरेर सिफारिस गरेपछि डीसीसीएमसीले निणर्य गर्ने छ । यसअघि कही कतै जोखिम देखिने वित्तिकै जिल्लाभरी नै निषेधाज्ञा या लकडाउन गर्ने गरिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले भोली नै बैठक बसेर स्कूल सञ्चालन सम्बन्धमा छलफल गरिने बताइन् । विद्यालय सिफ्टमा सन्चालन गर्ने मोडेलमा जान सकिने उनले बताइन् । बाँकेमा बैशाख १३ गते जारी निषेधाज्ञा जारी गरिएयता विद्यालयहरु ठप्प छन् ।
भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले विद्यालय खोल्दा आवश्यक मापदण्ड पालनामा हेलचक्य्राईं गर्न नहुने सुझाव दिएका छन् । ॅहामीकहाँ १८ वर्षमूनिका मानिसहरुलाई खोप लगाइएको छैन । त्यस हिसाबले तुलनात्मक रुपमा जोखिममा रहेको उमेरसमूह नै विद्यालय जाने भएकाले उच्च सावधानी भने अपनाइराख्नुपर्छ,’ उनले भने ।
हाल १८ वर्षमाथिको ठूलो जनसंख्याले खोप लगाइसकेको र लामो समय विद्यालय नचद्या बालबालिकामा नकारात्मक असर परिरहेकोले विद्यालय खोल्नु एक हिसाबले आवश्यक पनि भइसकेको डा. पाण्डेले बताए । ‘हाच्छ्युँ, जरो वा खोकी देखिएका र शंका लागेका बालबालिकाका अभिभावकले उनीहरुलाई विद्यालय पठाउनु भएन । विद्यालय जाने बालबालिकाकालाई पनि माक्स र स्यानिटाइजरको व्यवस्था गरौँ । शिक्षकहरुले पनि आवश्यक मापदण्ड पालना गरौँ,’ उनले भने ।
बाँके जिल्लामा कोभिड-१९ को तेस्रो लहरको जोखिम, पोष्ट कोभिडको प्रभाव र व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित समितिले साउन २१ गते सार्वजनिक गरेको प्रतिवेदनमा तेस्रो लहरबाट १८ वर्षमूनिका दुई लाख ६४ हजार सात सय ६३, एक वर्ष मूनिका १२ हजार तीन सय ७५ जना प्रभावित हुनसक्ने आँकलन गरिएको थियो । प्रतिवेदनले बालबालिका लक्षित आवश्यक पूर्व तयारी गर्न सुझाव पनि दिएको थियो । उक्त समितिका संयोजक डा. विनोद खेतानले पनि अहिले मापदण्ड पालना गर्दै सतर्कतापूर्वक विद्यालय खोल्नुपर्ने आवश्यकता भइसकेको बताए ।
डा. खेतानले भने, ‘आखिर अहिले घरमा पनि बालबालिकाहरु संभावित जोखिमबाट त जोगिन सकेका छैनन् । अभिभावकहरु भिडभाडमा गएकै छन् । उनीहरुको कन्ट्याक्ट बालबालिकासँग भएकै छ । तरपनि उल्लेखनीय रुपमा केशहरु बढेका छैनन् । त्यसकारण विद्यालय खोल्दैमा जोखिम बढिहाल्ने देखिँदैन । तर मापदण्डको पालना र उच्च सतर्कता भने आवश्यक छ ।’
उनले अभिाभावक र विद्यालयले मापदण्ड पालना गर्ने र जिम्मेवार निकायले नियमित अनुगमन गरेमा जोखिम न्यूनिकरण गर्न सकिने बताए ।
प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा भिडभाड, सभा, जुलुस, जात्रा र महोत्सव भने गर्न नपाइने उल्लेख छ । यसअघि सूचनामा उल्लेख हुने गरेको पार्क, रेष्टुरेन्ट, फिल्म हलमा लगाइएको बन्देज भने यसपटकको सूचनामा उल्लेख छैन ।