नेपाली सेनामा किन हात हाल्न खोज्दैंछ भारत ?

पिपलबाेट संवाददाता


भारत नेपालसँग सीमा विवाद चलिरहेका बेला नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरूलाई भारत सरकारले नयाँदिल्लीमा एकसाथ बोलाएको छ । वार्ता मार्फत सीमा विवाद सुल्झाउन नेपालले गरेको प्रस्ताव र नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) लले तयार पारेको प्रतिवेदन बुझ्न अटेर गर्दै आएको भारतले नेपालका पूर्व प्रधानसेनापतिलाई एकसाथ नयाँदिल्लीमा जम्मा गर्नु खोज्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भारतको सेनाले नेपालका सबै पूर्व प्रधानसेनापतिहरूलाई निमन्त्रण पठाई सकेको छ । भेला यही सेप्टेम्बर १७ र १८ का दिन नयाँदिल्लीमा हुने बताइएको छ । ‘नयाँदिल्लीमा भेला हुने भन्ने खबर प्राप्त गरेको छु । तर निमन्त्रणा हेरिसकेको छैन,’ नेपाली सेनाका पूर्व प्रधानसेनापति प्याराजङ्ग थापाले भने, ‘बेला बेलामा भारतले यस्तो भेला गर्दै आएको छ । हामीले पनि गर्छौं ।’

स्रोतका अनुसार भारतीय सेनाले नेपालका पूर्व प्रधानसेनापतिहरू राजेन्द्र क्षेत्री, गौरव शम्शेर जबरा, छत्रमान सिंह गुरुङ, रुक्माङ्गत कटवाल, प्याराजङ्ग थापा र धर्मपाल बरसिंह थापालाई भेलामा उपस्थित हुनको लागि निमन्त्रणा गरेको छ ।

भारतले यही भदौ २४ गते अवकाश प्राप्त गर्दै गरेका प्रधानसेनापति पूर्णचन्द्र थापालाई समेत भेलामा सहभागी हुनको लागि निमन्त्रणा पत्र पठाएको बुझिएको छ ।

‘नेपालको प्रधानसेनापतिलाई भारतको मानार्थ महारथी र भारतको सेनाध्यक्षलाई नेपालको मानार्थ महारथीले सम्मान गर्ने अभ्यास छ । सोही अनुसार यस्ता भेला हुने गर्छन्,’ पूर्व प्रधानसेनापति प्याराजङ्ग थापाले भने ।

नेपाली र भारतीय सेनाका नवनियुक्त प्रधानसेनापतिहरूलाई एकअर्का देशमा मानार्थ महारथी दिने प्रचलन रहिआएको छ । सन् १९५० मा दुई मुलुकबीच शान्ति तथा मैत्री सन्धि भएयता उक्त प्रचलन शुरु भएको अभिलेख छ ।

सेमिनारमा अहिलेसम्म तीन जना पूर्व प्रधानसेनापतिहरु सहभागी हुने निश्चित भएको छ । पूर्व प्रधानसेनापतिहरु प्यारजंग थापा,गौरव शमशेर राणा र राजेन्द्र क्षेत्रीको सेमिनारमा सहभागी हुने खबर पठाइसकेका छन् ।

केहीले स्वास्थ्यको कारण जान सहभागी हुन नसक्ने खवर पठाएका छन भने पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल भने त्यो बेला अमेरिका जाने भएकाले सहभागी हुन नसक्ने बताएको स्रोतले बतायो ।

खासगरी नयाँ संविधान जारी भएपछि नेपाल र भारतबीचको सम्बन्ध पहिलेको जस्तो सुमधुर बन्न सकेको छैन । यस्तो बेलामा निमन्त्रणा प्राप्त भएपनि केही पूर्व प्रधानसेनापतिहरूले भेलामा सहभागी नहुने मुड बनाएको बुझिएको छ ।

२४ भाद्र २०७८ मा प्रकाशित
Nabintech