माधव नेपालको टिप्पणीः एमालेले संसदमा नाटक गरिरहेको छ

पिपलबाेट संवाददाता


नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पार्टीले संसदमा नाटक गरिरहेको टिप्पणी गरेका छन्।

युवा संघ, नेपाल लुम्बिनी प्रदेशद्वारा नेपालगञ्जमा आयोजित प्रदेश भेला एवं पिपुल्स भोलेन्टियर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सर्वोच्च अदालतले नै ह्वीप लाग्दैन भनेको विषयलाई लिएर एमालले संसदमा नाटक गरिरहेको बताए।

उनले भने, ‘सर्वोच्च अदालतको संवैधानिक इजलासले ह्वीप लाग्दैन भनेको छ। अदालतमा विचाराधीन विषय छ। अदालतमा विचाराधीन रहेको विषय भएकाले संसदमा उठाउन पाइँदैन। यस्तो कुरालाई लिएर सभामुख, निर्वाचन आयोगको मानमर्दन गरेको छ। यो सब नाटक हो।’

अध्यक्ष नेपालले १० बुँदे सहमतिलाई पनि नाटक भनेका छन्। १० बुँदेमा ओलीले इमान्दारिता नदेखाएको कुरा साथीहरुले नबुझेको नेपालको भनाइ थियो। एमालेका अध्यक्ष ओलीप्रति आक्रमक देखिएका नेपालले ओलीमा क्रान्तिकारी ज्वाला निभिसकेको बताए। उनले एमालेलाई ओलीको निजी कम्पनीको रुपमा परिणत भएको आरोप लगाए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले एमसीसी नेपालको हितमा छ भन्ने ग्यारेन्टी भएपछि मात्रै अघि बढाइने बताए। नेता नेपालले माओवादीसँग पार्टीको एकता हुने सम्भावना नरहेको बताए। उनले चुनावसम्म ५ दलीय गठबन्धन बन्ने जानकारी दिए।

युवा संघ लुम्बिनीका अध्यक्ष किशोर थापाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु दलबहादुर सुनार, कौशिला सिंह, कैलालीका अध्यक्ष दीर्घ सोडारी, रुपन्देहीका अध्यक्ष राजु गुरुङ, युवा संघका अध्यक्ष नरेश शाही, युवा संघ लुम्बिनी इन्चार्ज सरिता श्रीषले मन्तव्य राखेका थिए।

दाङका प्रेम बुढाको अध्यक्षतामा ३५ सदस्यीय पिपुल्स भोलेन्टियर गठन गरिएको छ। नेपालले नेपालगञ्जमा पार्टी कार्यालय उद्घाटन र खजुरामा पार्टी प्रवेश गराउने कार्यक्रम तय गरिएको छ।

एमाले फुटाएर नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) गठन गरिसकेपछि काठमाडौंबाहिर पहिलो भ्रमणमा निस्केका नेता नेपालले आफूले हिम्मतका साथ नयाँ पार्टी गठन गरेर क्रान्तिकारी ज्वालालाई जीवित बनाएको बताए । उनले नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले क्रान्तिकारी ज्वाला निभाइसकेको आरोप लगाए ।
अध्यक्ष नेपालले एमालेको विधानमा अध्यक्षमा शक्ति केन्द्रित गरिएको उल्लेख गर्दै अब अध्यक्षलाई मृत्युदण्ड र आम माफीको अधिकार पनि दिन भन्दै व्यंग्य गरे । उनले भने ‘केपी ओलीले पार्टीलाई निजी कम्पनी बनाइसके । विधानमा अध्यक्षलाई जे पनि गर्नसक्ने अधिकार दिएका छन् । त्यसमा अब अध्यक्षले मृत्युदण्ड पनि दिन मिल्ने र आम माफी पनि दिन मिल्ने व्यवस्था गरे हुन्छ ।’ उनले नेकपा एमाले बुर्जुवाहरुको पनि अधिनायकवादी पार्टी भएको टिप्पणी गरेका छन् ।
एकीकृत समाजवादी पार्टी नयाँ मान्यता र नयाँ संस्कार निर्माण गर्न स्थापना गरिएको नेपालको दावी छ । पार्टीले समाजवादको लक्ष्य प्राप्त गर्ने, जनताका आधारभूत समस्याको हल गर्ने, देशको स्वाभिमान र राष्ट्रियताको सम्मान गर्ने उनको भनाइ छ । उनले पार्टीले अहिले नै सुदुरपश्चिम प्रदेश सभामा एक नम्बरको हैसियत बनाइसकेको बताउँदै राम्रो काम गर्दै गएमा जनताले पहिलेको बिरासत मात्रै नहेर्ने दावी गरे । ‘सुर्य चिन्ह जनताले सधैं सम्झिराख्दैनन् । जसले राम्रो काम गर्छ, जो आफ्नो पक्षमा उभिन्छ उसैलाई साथ दिन्छन्,’ उनले भने ।

२६ भाद्र २०७८ मा प्रकाशित
Nabintech