सामाजिक सद्भावको पर्व–अटवारी

पिपलबाेट संवाददाता


थारू समुदायको दोस्रो ठूलो पर्व अटवारी आइतबार मनाइएको छ। दाङसहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत थारू समुदायको बसोबास रहेका जिल्लामा कुशे औँशीपछिको पहिलो आइतबार यो पर्व मनाइन्छ।

 

 

आजको दिन सूर्यको जन्म भएर संसार उज्यालो भइ प्राणीको कल्याण भएको मान्यताअनुसार सूर्यको पूजा आराधना गरी यो पर्व मनाइने परम्परा बसेको थारु अगुवाहरूको भनाइ छ। अटवारीले गर्दा थारू समुदायको चाडपर्वमा सन्तुलन रहेको घोराही उपमहानगरपालिका–१२ का डाक्टर जर्मन चौधरीले बताए।

उनले थारू समुदायका महिलाले मात्र मनाउने अष्टमी पर्व रहेको र उक्त पर्व हर्षोल्लास र पूजाआजा गरी मनाउने गरेको बताए। यसैगरी पुरुषहरूले अटवारी पर्व मनाउने उनले बताए।

उनले भने, ‘धेरै पर्वहरू महिलाहरू मात्र व्रत बस्ने र मनाउन गर्दछन्। पुरुषहरूका लागि यो पर्व, यो व्रत भन्ने छैन। तर, हाम्रो थारू समुदायको अटवारी पर्वले पुरुषहरूको लागि यो पर्व हो भन्ने चिनाएको छ। यसले गर्दा महिला पुरुषमा समानताको अभ्यास गर्न खोजेको जस्तो लाग्छ।’

यसैगरी उनले  यस पर्वको बारेमा अझै गहन अध्ययन अनुसन्धान हुन बाँकी रहेको  बताए। उनका अनुसार अहिले यो देखासिकीमा मनाउँदै आएको भए तापनि वास्तविकता थाहा छैन। उनले भने, ‘यस पर्वको बारेमा अहिलेसम्म स्पष्ट थाहा पाइएको छैन। हाम्रा अग्रजहरूलाई सोध्दा पनि उहाँबाट पूरै जानकारी आउँदैन। यो वा त्यो भनेर प्रसङ्ग जोड्ने कुरा सबैको मुखबाट आए पनि वास्तविकता कसैलाई थाहा छैन।’

दाङसहित तराईका ५ जिल्लामा अटवारी हर्षोल्लासका साथ मनाइने गरेको छ। यस अवसरमा दाङका ४ स्थानीय तहले पनि बिदा दिएका छन्।

दिनभरी व्रत बस्नुपर्ने भएकाले व्रत बस्नेले एकाबिहानै भाले नबास्दै मिठामिठा परिकार ‘भिनसर्‍या’ अर्थात दर खाने चलन रहेको घोराही उपमहानगरपालिका–६ की बसन्ती चौधरीले बताइन्। उनले भनिन्, ‘आज हामीले ‘भिनसर्‍या’ खान्छौं। माछा, गंगटा खाने गरिन्छ। दोस्रो दिन नयाँ आगो लिएर नुहाउन जाने र एकतर्फबाट मात्र पकाएको रोटी चढाउने गर्दछौँ।’

त्यस्तै घोराही उपमहानगरपालिका–६ की  रामकुमारी चौधरीले अटवारीमा छोरीचेलीलाई खानेकुरालगायत सामाग्री दिने चलन रहेको बताइन्। उनले अन्य चाडपर्वमा छोरीचेलीले  माइतमा कोसेली ल्याउने भए पनि अटवारीमा आफूहरूले नै दिने चलन रहेको बताइन्।

महाभारतका ५ पाण्डवमध्ये भीमले अटवारीको व्रत बसेर धेरै शक्तिशाली भएपछि थारू समुदायका पुरुषहरू पनि अटवारीमा भीमजस्तै शक्तिशाली बन्न ब्रत बस्ने गरेको घोराही उपमहानगरपालिका–६ का थारू मुखिया सुन्दरप्रसाद थारुले बताए। उनले भीमले तावामा रोटी हालेर रोटी फर्काउन आग्रह गर्दै  नुहाउन गएको र कसैले पनि फर्काउन नसक्दा शक्तिशाली भीमले एकातिर मात्र पाकेको रोटी खाएर भोक मेटेको किंवदन्ती रहेकोसमेत बताए।

त्यही किंवदन्तीअनुसार थारू समुदायका पुरुष  दिनभरी व्रत बसी भीमजस्तै बलियो हुने कामनाका साथ एकातिर मात्र पकाइएको रोटी चढाएर भीमको पूजाआजा गर्ने चलन रहेको उनको भनाइ थियो।

अटवारीको भोलिपल्ट बिहानै व्रतालु पुरुष नजिकैको जलाशयमा नुहाउने र  रोटी, माछा, विभिन्न परिकार र तरकारी अग्निमा हवन गरेपछि शुद्ध पारी आफ्ना दिदीबहिनीका लागि कोसेली अर्थात अग्रासन छुट्याइने चलन रहेको उनले बताए। त्यसरी छुट्याइएको अग्रासन विवाहित छोरीचेलीको घरमा दिन जाने चलन रहेको छ।

२८ भाद्र २०७८ मा प्रकाशित
Nabintech