जमुनाहा नाकाका सबै प्रहरी तानिए

पिपलबाेट संवाददाता


‘कालापहाडे’ सँग पैसा असुली गरेको आरोप लागेपछि इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्जसहित आठ प्रहरी तानिएका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेले जमुनाहाका सई पूर्ण खत्रीसहित आठ प्रहरीलाई तानेर नयाँ टोली पठाएको हो। जमुनाहामा सई मीनबहादुर विष्टलाई पठाइएको कार्यालयले जनाएएको छ।

भारतको कालापहाड, सिमला, प्रयागलगायत ठाउँमा काम गरी दसैँ मान्न स्वदेश फर्केकाहरुसँग पैसा असुलेको भन्दै बाँके प्रहरीले इलाका प्रहरी कार्यालयको टीमलाई नै तानेको हो।

प्रहरीले स्वदेश फर्केकाहरुसँग पैसा असुलेको गुनासो आएपछि बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी र डीएसपी मधुसुदन न्यौपाने आफै सादा पोशाकमा नाकामा पुगेका थिए। व्यापक जनगुनासो आएपछि नाकामा छड्के जाँच गर्न पुगेका एसपी र डीएसपीले आफ्नै आँखाले कमजोरी देखेपछि जमुनाहाको प्रहरी टोली नै परिवर्तन गरेका हुन्।

जमुनाहा नाकामा डीआइजीको आदेशमा इन्चार्ज पठाउने गरिन्छ। बाँके प्रहरीले भन्सारका सई पनि तानेको छ। भन्सार इन्चार्ज रहेका सई अनुप ऐरीलाई तानेर लीला विकलाई पठाइएको छ। बाँके प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले जनगुनासो आएको ठाउँका प्रहरीलाई परिवर्तन गरिएको जानकारी दिए।

नेपालगञ्ज नाकामा यतिबेला दसैँ मान्न घर फर्किनेको भीड लागेको छ। व्यापक जनगुनासो आएपछि प्रहरीले नाकामा कालापहाडेको झोला खोतल्न बन्द गरेको छ। विशेष सूचना आएमात्रै कालापहाडेको झोला खोतल्ने प्रहरीले जनाएको छ।

जमुनाहा नाकामा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीको टोली पनि खटिएको छ। नेपाल प्रहरीको देखासिकीमा उनीहरुले पनि पैसा उठाउने गरेको पीडित बताउँछन्। सशस्त्र प्रहरीले यस विषयमा न कुनै एक्सन लिएको छैन न त भन्सार कर्मचारीमाथि नै निगरानी बढाइएको छ। नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीले प्रतिस्पर्धाकै शैलीमा पैसा उठाउने गरेको पीडितहरु बताउँछन्।

१७ आश्विन २०७८ मा प्रकाशित
Nabintech