नेपाल राष्ट्र बैंकले विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि चाडपर्वलार्ई लक्षित गर्दै नयाँ नोट सटहीको सुविधा प्रदान गरेको छ । राष्ट्र बैंकका सातवटै प्रादेशिक र केन्द्रीय कार्यालबाट पाँचदेखि १०० रुपैयाँसम्मका नयाँ नोट प्रतिव्यक्ति अधिकतम १८ हजार ५०० रुपैयाँसम्म सटही सुविधा उपलब्ध छ ।
नयाँ नोट सटही सुविधासँगै केन्द्रीय बैंकले नोटको सुरक्षामा सावधानी अपनाउन पनि आग्रह गरेको छ । नोटलाई पूजा गर्ने, रङ लगाउनेजस्ता कार्य नगर्न मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले आग्रह गरे । नोटको सुरक्षाका लागि बैंकले प्रयास गरे पनि त्यसमा अपेक्षित उपलब्धि हासिल हुन भने नसकेको उनको भनाइ छ ।
नोटको सुरक्षा किन पनि आवश्यक छ भने नयाँ नोट छाप्न ठूलो रकम खर्च गर्नुपर्छ । पाँच रुपैयाँदेखि एक हजारसम्मको नोट छपाइका लागि एक रुपैयाँ ४० पैसादेखि चार रुपैयाँ ६८ पैसासम्म खर्च लाग्ने उनी बताउँछन् ।
राष्ट्र बैंकले दसैँलाई लक्षित गर्दै १२ देखि १५ अर्बका सानो दरका नोट बजारमा पठाउने गरेको नेपालले बताए । सानो दरका करिब १५ करोडवटा नयाँ नोट छपाइ हुँदा सरदर लागत प्रतिनोट साढे दुई रुपैयाँ लाग्दा करिब ३८ करोड खर्च हुने उनी बताउँछन् ।
चाडपर्वमा बजारमा पठाइएका नयाँ नोटमध्ये २५ देखि ३० प्रतिशत फोहोर भएर राष्ट्र बैंकमा फिर्ता हुने गरेको उनले जानकारी दिए ।
राष्ट्र बैंकबाट बजारमा सर्कुलर हुने सानो दरका नोटको औसत आयु दुई वर्ष र ठूलो दरका (५०० र एक हजार) नोटको औसत आयु चार वर्ष देखिएको नेपाल बताउँछन् । नोटमा फोहोर, रङको प्रयोग र केरमेट नगरिएमा त्यसको आयु २५ प्रतिशत बढाउन सकिने उनले बताए ।
नोटमा केरमेट, फोहोर गर्ने व्यक्ति, संस्था वा समुदायलाई कानुनी दायरामा ल्याउन नसकिएको राष्ट्र बैंकले जनाएको छ । फौजदारी संहितामा नोट फोहोर गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने कानुनी व्यवस्था रहे पनि त्यसको कार्यान्वयन हुन नसकेको उनले बताए ।
उक्त कानुन बनेपछि पनि सुरुको तीन/चार वर्ष प्रचारप्रसार गर्ने, जनचेतना जगाउने र त्यसपछि कानुनी कारबाहीमा जाने राष्ट्र बैंकको तयारी छ ।
नोट छपाइमा कति खर्च हुन्छ ?
राष्ट्र बैंकको पछिल्लो बिडिङ प्रक्रियाअनुसार पाँच रुपैयाँ दरको नोट छाप्न प्रतिनोट एक रुपैयाँ ६८ पैसा लाग्छ । १० रुपैयाँको नोट छाप्न एक रुपैयाँ ४० पैसा, २० रुपैयाँको एक रुपैयाँ ७३ पैसा, ५० रुपैयाँको नोट छाप्न दुई रुपैयाँ ६७ पैसा, १०० रुपैयाँको दुई रुपैयाँ ९९ पैसा, ५०० रुपैयाँको चार रुपैयाँ ६८ पैसा र एक हजार दरको नोट छाप्न प्रतिनोट तीन रुपैयाँ ३७ पैसा लागत लाग्छ ।
डिजिटल दक्षिणामा प्रोत्साहन
राष्ट्र बैंकले नोट छपाइमा हुने ठूलो लागत कम गर्न चाडपर्वमा डिजिटल दक्षिणा र डिजिटल भुक्तानी प्रयोग गर्न अपिल गरेको छ । डिजिटल दक्षिणा अथवा डिजिटल माध्यमबाट हुने भुक्तानीमा केही ‘इन्सेन्टिभ’ दिनुपर्ने उनी बताउँछन् । डिजिटल भुक्तानी गर्दा छुट अथवा केही रकम फिर्ता हुने व्यवस्था गर्न सके त्यसले थप आकर्षण गर्न सक्ने निर्देशक नेपालको भनाइ छ । साभार ब्राह खरी