नेपालगन्जमा मन्त्रीको गाडीलाई ओभरट्याक गर्न खोज्दा दुर्घटना

पिपलबाेट संवाददाता


नेपालगन्ज-कोहलपुर चारलेन सडक अन्र्तगत राँझामा हाइसले मोटरसाइकललाई ठक्कर दिदाँ दुई जना घाइते भएका छन् । नेपालगन्जबाट कोहलपुरतर्फ जादै गरेको बा२ख २५९८ नम्बरको हाइसले भे ११ प ९५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार दुई जना घाइते भएका हुन् ।

अस्थायी ट्राफिक बिट गनापुरका इन्चार्ज एवम् ट्राफिक प्रहरी नायव निरीक्षक(सई) सिद्धि गणेश शाहका अनुसार मोटरसाइकल चालक बाँके, जानकी गाउँपालिका वडा नम्बर ६ कोठारपुर निवासी ३६ वर्षका इद्रिस साई र सोही ठाउँका २१ वर्षीय कलिम नाउँ घाइत भएका हुन् ।

ट्राफिक प्रहरीका अनुसार गलत साइडमा गुडेको  हाइसले मनिकापुरबाट राँझा चोकतर्फ जादै गरेको मोटरसाइकललाई दिउँसो ३ः३० बजेतिर ठक्कर दिएको थियो ।  काठमाडौंबाट जहाजमार्फत नेपालगन्ज विमानस्थल आइपुगेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ प्रहरीको स्कटिङ र आफ्ना कार्यकर्ताको मोटरसाईकल र्यालीसहित कोहलपुरतर्फ गइरहेका थिए ।

सो क्रममा पछाडी रहेको हाइस दायाँ पट्टीको लेनमा गएर ओभरट्याक गर्न खोज्यो । त्यसपछि विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दियो । ‘मन्त्री ज्यू सवार गाडीलाई ओभरट्याक गरेर अगाडी जाने क्रममा हाइस रङ साइडमा गयो, त्यही बेला मनिकापुरबाट राँझा चोकतिर आइरहेको मोटरसाइकललाई ठक्कर दिएको होे,’ शाहले भने । ठक्कर दिने हाइसलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

घाइते दुबैको उपचार गर्न हाइस चालकको जिम्मा लगाइएको र उनीहरुको नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि मोटरसाईकल र हाइसको अगाडीको भागमा क्षति पुगेको छ ।

२७ आश्विन २०७८ मा प्रकाशित
Nabintech