‘नेपालले साफ च्याम्पियनसिपमा उच्च मनोबलका साथ खेल्यो’ : खेलकुद मन्त्री गहतराज

पिपलबाेट संवाददाता


युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ ले नेपालले साफ च्याम्पियनसिपमा उच्च मनोबलका साथ खेलेको भन्दै प्रशंशा गरेका छन् । राष्ट्रिय टोलीले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेर इतिहास रचेको भन्दै उपाधि नजिते पनि आफू निराश नभएको उनले बताए ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आइतबार मन्त्री गहतराजले भने, ‘म राष्ट्रिय फुटबल खेलाडीहरुको प्रदर्शनबाट निराश छैन, नयाँ आशा जगाएको छ ।’ नेपालले अझ राम्रो प्रदर्शन गरेर भविष्यमा विभिन्न उपाधिहरु जित्न सक्ने उनले बताए । फाइनलअघि प्रशिक्षक तथा टिम व्यवस्थापकसँग आफूले फोनमा कुरा गरेर गोर्खा स्पिरिट सम्झेर खेल्न प्रेरित गरेको र त्यहीअनुरुप टिमले मालेमा प्रदर्शन गरेको मन्त्री गहतराजको भनाइ छ ।

उनले नेपालको प्रदर्शनको समिक्षा हुने र खेल स्तर सुधार्न आवश्यक कदम चालिने बताए । मन्त्री गहतराजले युवा र खेलकुदको विकासको आधार तयार गर्न काम थालिसकेको बताए । आफ्नो कार्यकालमा सम्झनलायक काम गर्न योजनावद्ध तरिकाले अगाडी बढिरहेको सुनाए । उनले भने, ‘म काममा विश्वास गर्ने व्यक्ति हुँ,  गफ र भाषणमा मलाई विश्वास छैन, देशभित्र चरम निराशा पैदा भएको छ, खेलकुदको माध्यमबाट हामीले आशा जगाउनुपर्नेछ ।’

३१ आश्विन २०७८ मा प्रकाशित
Nabintech