चीनले नेपाललाई थप २० लाख मात्रा खोप दिने

पिपलबाेट संवाददाता


परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज टेलिफोन संवाद भएको छ ।

करिब एक घण्टा लामो कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने घोषणा गर्नुभएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । दुई देशका विदेशमन्त्रीबीच आपसी हित र दुईपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।

कुराकानीका क्रममा कोभिडविरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो । तातोपानी र रसुवागढी नाकालाई थप सहज बनाउने विषयमासमेत कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

साथै दुई विदेशमन्त्रबीच साझा स्वार्थका सम्बन्धमा नजिकबाट समान धारणा बनाएर दुई देशबीचको परम्परागत लामो सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुईपक्षीय समन्वय र सहकार्यलाई महत्व दिनेबारे कुराकानी भएको छ ।

विदेशमन्त्री यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तोसमेत दिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

२ कार्तिक २०७८ मा प्रकाशित
Nabintech