पहिरोमा परी डोटीमा २४ घण्टा नबित्दै ८ को मृत्यु

पिपलबाेट संवाददाता


घर भत्किँदा डोटीमा ८ जनाको मृत्यु भएको छ । चार वटा छुट्टा छुट्टै घटनामा परी २४ घण्टाभित्रमा उनीहरुको मृत्यु भएको हो । मंगलबार दिउँसो घर भत्किँदा जोरायल गाउँपालिका-४ सयगडामा एकैघरका ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

मृत्यु हुनेमा घरधनी ४२ वर्षका शेरबहादुर बिक, उनका १८ वर्षका छोरा मोहन बिक, १२ वर्षीया छोरी पबित्रा बिक र सोही घरमा मामाघर आएका १६ वर्षीय रविन बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए । यस्तै जोरायल गाउँपालिका वडा नम्बर ४ मा पनि पहिरोले घर पुरिदाँ ६२ वर्षका जोगी सार्कीको मृत्यु भएको छ । घटनामा उनकी श्रीमती घाइते भएकी छन् ।

यसैगरी पहिरोसँगै आएको ढुंगा लागेर शिखर नगरपालिका ११ निवासी ३६ वर्षीया मन्धरी बलायरको मृत्यु भएको छ । मंगलबार दिउँसो घाइते भएकी उनको उपचारका क्रममा दिपायलको अस्पतालमा मृत्यु भएको हो । सोमबार राती पहिरोले घर पुरिदाँ जिल्लाको सायल गाउँपालिका ६ का बीरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीया आशिष कुन्जेडाको मृत्यु भएको थियो । सोही घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

पहिरोले घर बगाउँदा बैतडीमा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा उनका २ जना बुहारी र १ जना नातीको मृत्यु भएको हो ।

शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदका अनुसार स्थानीय १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की रहेका छन् । घटनास्थलबाट प्रहरीले तीनै जनाको शव निकालेको छ ।

२ कार्तिक २०७८ मा प्रकाशित
Nabintech