महिला भलिबलको उपाधि नेपालगन्ज उपमहानगरपालिकालाई

पिपलबाेट संवाददाता


पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि नेपालगन्ज उपमहानगरपालिकाले जितेको छ । बाँकेको खजुरामा आइतबार भएको फाइनल खेलमा नेपालगन्ज उपमहानगरपालिकाले कोहलपुर नगरपालिकालाई २–१ सेटले हराएर उपाधि जितेको भलिबलका राष्ट्रिय रेफ्री प्रकाश शर्माले जानकारी दिए । ‘वेष्ट अफ थ्रि’ का आधारमा खेलाइएको प्रतियोगितामा उपाधि जितेसँगै नेपालगन्ज उपमहानगरपालिकाले नगद ५० हजार, ट्रफी र प्रमाण पत्र पाएको छ । प्रतियोगितामा उप–विजेता भएको कोहलपुर नगरपालिकाले भने नगद ३० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गर्यो । यसैगरी प्रतियोगितामा बैजनाथ गाउँ पालिकालाई २–० सेटले हराउँदै राप्ती सोनारी गाउँपालिकाले तेस्रो स्थानमा आएको छ । राप्ती सोनारीले नगद २० हजार, ट्रफी र प्रमाण पत्र पाएको छ । सान्त्वना भएको बैजनाथले नगद १० हजार र प्रमाण पत्र पाएको  छ । प्रतियोगिताका विजेता, उपविजेता लगायतलाई कार्यक्रमका प्रमुख अतिथी एवम् खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, विशिष्ट अतिथी एवम् राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया बि.क, नेपालगन्ज उपमहानगरपािलका २ का वडाअध्यक्ष सुनिलसिंह हमाल, जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष मोहित शाह लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण
गरेका थिए ।जिल्ला खेलकुद विकास समितिले शुक्रबारबाट सञ्चालनमा ल्याएको उक्त प्रतियोगितामा बाँकेका ८ वटै स्थानीय तहले सहभागिता जनाएका थिए ।

१४ कार्तिक २०७८ मा प्रकाशित
Nabintech